गेजिङ: गेजिङ जिल्ला अन्तर्गत देन्ताम महकुमा कार्यालयको आज विधिवत रूपमा उद्घाटन भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले यस महकुमा कार्यालयको उद्घाटन गरी देन्तामवासी जनतालाई समर्पित गरे।
उद्घाटनपछि मुख्यमन्त्रीले भवनको अवलोकन गरे।
कार्यक्रममा आफ्नो स्वागत सम्बोधन राख्दै क्षेत्र विधायक तथा पर्यटन एवं नागरिक उड्डयन विभागका सल्लाहकार सुदेश कुमार सुब्बाले नवउद्घाटित यस महकुमा कार्यालयबाट स्थानीय जनतालाई धेरै लाभ पुग्ने बताउँदै स्थानीय जनताको पक्षबाट मुख्यमन्त्रीलाई धन्यवाद दिए। यसैगरी क्षेत्रमा भइरहेका विविध विकासीय कार्यहरूको पनि उल्लेख गर्दै उनले मुख्यमन्त्रीको नेतृत्वमा वर्तमान एसकेएम सरकारले देन्ताम क्षेत्रमा चौतर्फी विकासका योजनाहरू अघि सारेको अवगत गराए।
जिल्लापाल तेन्जिङ डी डेन्जोङपाले यस महकुमा कार्यालय उद्घाटनको निम्ति देन्तामवासीलाई बधाई दिॅंदै मुख्यमन्त्रीको नेतृत्वमा यस्ता विकासीय कार्यहरू निरन्तर भइरहेको अवगत गराए। यसै अवसरमा विविध योजनाका लाभार्थीहरूलाई मुख्यमन्त्री विवेकाधीन कोष मार्फत आर्थिक सहयोगको चेक वितरण गरियो। कार्यक्रममा क्षेत्रवासी जनताको तर्फबाट मुख्यमन्त्री प्रेमसिंह तामाङलाई अभिनन्दन जनाइयो। यसैगरी देन्ताम महकुमा कार्यालय र हि साङ्खुका जिल्ला र ग्राम पञ्चायतद्वारा पनि मुख्यमन्त्रीलाई अभिनन्दन जनाइयो।
यस अवसरमा सांस्कृतिक नृत्य टोलीका कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, विभिन्न विभागीय अधिकारीहरू, सल्लाहाकारगण, अध्यक्षगण, कर्मचारी लगायत स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियो।