अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पद तथा गोपनियताको शपथ लिँदैछन्। तर, उनी ह्वाइट हाउस आइपुग्नुभन्दा तीन दिनअघि एक सनसनीपूर्ण खबरले सम्पूर्ण विश्वलाई चकित बनायो। अमेरिकी सर्ट सेलिङ कम्पनी हिन्डनबर्गका संस्थापक नाथन एन्डरसनले कम्पनी बन्द गर्ने घोषणा गरेका छन्। सात वर्षदेखि चलिरहेको हिन्डनबर्ग रिसर्चले आफ्नो काम बन्द गर्ने निर्णयले संसारभर हलचल मच्चाएको छ। विशेषतः भारतमा, जहाँ अदानी समूहमाथिको रिपोर्टका कारण यस कम्पनीको ख्याती चुलिएको थियो। यदि हिन्डनबर्गको काम गर्ने शैली र डोनाल्ड ट्रम्पको नीतिहरू हेर्ने हो भने, तस्वीर धेरै हदसम्म स्पष्ट हुन्छ। ट्रम्प न केवल राजनीतिज्ञ, तर एक सफल व्यापारी पनि हुन्। उनका प्राथमिकताहरूमा व्यापारमैत्री वातावरण सिर्जना गर्नुपर्छ भन्ने धारणा छ। संसारकै सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक एलोन मस्क उनका निकट सहयोगी हुन्। अर्कोतर्फ, नाथन एन्डरसनको कम्पनी हिन्डनबर्गले विश्वभरका ठूला व्यवसायहरूलाई आफ्नो निशानामा राख्दै आएको छ। यस कम्पनीको रिपोर्टका कारण १०० भन्दा बढी व्यक्तिहरू विभिन्न मुद्दा र अनुसन्धानको सामना गरिरहेका छन्। ट्रम्पले व्यवसायको प्रवर्द्धन र सुरक्षा गर्न प्राथमिकता दिने भएकाले एन्डरसनको यस्तो कार्यशैलीप्रति असन्तुष्टि रहनु अस्वाभाविक होइन। ट्रम्पको पहिलो कार्यकालमा स्थापना भएको हिन्डनबर्गले जो बाइडेनको कार्यकालमा लोकप्रियता पायो। खासगरी, भारतीय व्यवसायी गौतम अदानीविरुद्धको रिपोर्ट र भारतीय बजार नियामक सेबीमाथि प्रश्न उठाएपछि हिन्डनबर्गको नाम अन्तर्राष्ट्रिय रूपमा चर्चित भयो। भारतको छवि धमिलो बनाउने यस घटनाले ट्रम्प र भारतको विशेष सम्बन्धलाई असर पुर्याउन सक्थ्यो। यस्तो परिस्थितिमा नाथन एन्डरसनले बुझे कि ट्रम्पको नेतृत्वमा उनीहरूलाई काम गर्न झन् गाह्रो हुनेछ। एन्डरसनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो कम्पनी बन्द गर्ने घोषणा गर्दै यो निर्णय व्यक्तिगत कारणले लिएको बताए। उनले लेखे, “जुन उद्देश्यले हिन्डनबर्ग स्थापना गरिएको थियो, त्यो पूरा भइसकेको छ।” एन्डरसनको ट्वीटले स्पष्ट संकेत गर्छ कि उनले अझै धेरै काम गर्न बाँकी थियो। तर, ट्रम्पको सत्ता आगमनले यो सम्भव नहुने देखेपछि उनले कम्पनी बन्द गर्नुलाई उपयुक्त ठाने। अमेरिकी एजेन्सीहरूको दबाबमा काम गर्नुभन्दा स्वेच्छाले कम्पनी बन्द गर्नु नै उनले उचित ठानेको देखिन्छ। एन्डरसनको यो कदमले विश्वभर नयाँ बहसलाई जन्म दिएको छ। हिन्डनबर्गको बन्दसँगै सर्ट सेलिङ अनुसन्धानको भविष्य कस्तो हुने भन्नेमा चासो बढेको छ।