साहित्यकार हायमनदास राई ‘किरात’ गोर्खा समाजका विभूति अनि अभिभावक थिए: अनित थापा
कालेबुङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सहयोगमा साझा साहित्य संरक्षण संस्थाद्वारा आज गोरुबथानको सोमबारे बजारमा साहित्य लेखनसँगैसँगै प्रकाशनको क्षेत्रमा पनि उतिकै उल्लेखनीय योगदान दिएर सिङ्गै नेपाली समाजलाई उपकृत तुल्याउने साहित्यकार हायमनदास राई ‘किरात’- को सालिग अनावरण गरिएको छ। गोरुबथानको सोमबारे बजारको नवनिर्मित त्रिकोण पार्कमा उक्त सालिग स्थापित गरिएको छ। उक्त ऐतिहासिक समारोहको मुख्य अतिथिको रूपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए। समारोहको अध्यक्षता वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हाले गरेका थिए। कार्यक्रममा डा. रेमिका थापाले साहित्यकार किरातको व्यक्ति र कृतिमाथि वार्ता राखेका थिए। समारोहमा दार्जीलिङ, कालेबुङ, डुवर्स अनि सिक्किमका साहित्यकारहरुको उपस्थिति रहेको थियो। यस अवसरमा आफ्नोे सम्बोधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले भने, ‘साहित्यकार हायमनदास राई ‘किरात’ गोर्खा समाजका विभूति अनि अभिभावक थिए। हाम्रा स्रष्टा हुन उनी। उनलाई हामीले साहित्यको इतिहासमा राखेर जीवित राखेका छौँ।’

अनित थापाले अघि भने, ‘मूर्तिकार अमिर सुन्दासले मूर्ति बनाएका हुन्। प्रतिमा जीवन्त रहेको छ। सुन्दास भाइले भने झैं त्रिकोण पार्क आउनु हुने सबैले प्रतिमा अघि सेल्फी लिनु होला।’