गान्तोक: देन्ताम महकुमा कार्यालय भवनको उद्घाटन समारोहको तयारीलाई थप व्यवस्थित बनाउन अन्तिम समन्वय सभा आज क्षेत्र विधायक सुदेस कुमार सुब्बाको अधय्क्षतामा सम्पन्न भयो। सभामा अतिरिक्त जिल्ला विकास अधिकारी सुरत कुमार गुरुङ, महकुमा अधिकारी एनके कार्की, खण्ड विकास अधिकारी वाङ्दी छिरिङ भुटिया लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। सभाको मुख्य उद्देश्य मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट सम्पन्न हुने उद्घाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउने तयारीका लागि आवश्यक छलफल र व्यवस्थापन गर्नु थियो। सभामा अतिथिहरूको स्वागत, कार्यक्रमको सञ्चालन, सुरक्षा व्यवस्था र सांस्कृतिक प्रस्तुती लगायत जिम्मेवारीलाई लिएर समिति पनि गठन गरिएको छ। यसैगरी सभामा विभिन्न पक्षमा आवश्यक समन्वय गरी समारोहलाई सफल बनाउने रणनीतिहरूमाथि छलफल भयो। क्षेत्र विधायकले देन्तामवासीलाई यस ऐतिहासिक अवसरमा सक्रियरूपमा सहभागी बनेर १६ जनवरीको दिन हुने उद्घाटन समारोहलाई सफल बनाउन विशेष अनुरोध गरेका छन्।