उदघाटन खेल १९ जनवरीमा हुने
खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा प्रत्येक वर्ष आयोजना गरिने शहीद गोल्ड कप अन्तर्गत यस वर्षको खेल तालिका सार्वजनिक गरिएको छ। आज खरसाङमा खरसाङ महकुमा खेलकूद संघको तर्फबाट उक्त गोल्ड कपको खेल तालिका सार्वजनिक गरिएको छ। उक्त खेल तालिका खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन, सचिव निर्मल गुरुङ, शहीद गोल्ड कपको संयोजक बिजय राई, कोषाध्यक्ष बसन्तसिंह र कार्यकारी सदस्यहरु मोहन राई र किशोर तामाङ आदिले सार्वजनिक गरेका छन्। यसपालीको शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको उदघाटन खेल आगामी १९ जनवरीमा सम्पन्न हुने भएको छ। शहीद गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक गरिएपछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङ्ले यसपालीको शहीद गोल्ड कपको उदघाटन खेल आगामी १९ जनवरीमा हुने अनि सेमी फाइनल खेलहरु ३० र ३१ जनवरी र फाइनल खेल आगामी २ फरवरीको दिन सम्पन्न हुने भएको जानकारी गराएका छन्। उनले गत वर्षहरुमा १७ जनवरीदेखि ३० जनवरीभित्र आयोजना हुने गरिए पनि यसपाली खरसाङको चानमारी खेल मैदानको मरमत्तिको कार्यले गर्दा केही ढिलो भएको जानकारी गराएका छन्। गुरुङले यसपाली शहीद गोल्ड कपमा सधैं झैं १२ वटा टिमहरु रहेको र यसपालीको शहीद गोल्ड कप विजेतालाई ट्रफीसहित दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्। उनले यसपालीको शहीद गोल्ड कपको उदघाटन खेल आगामी १९ जनवरीको दिन गरवाल फाईफल्स कोलकोता र रायगञ्ज वेलफेयर अर्गनाइजेशनमाझ सम्पन्न हुने भएको जानकारी गराएका छन्। खरसाङको चानमारी खेल मैदानमा हुने उक्त शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको युवा मामिला अनि खेलकूद विभागको सहयोगमा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा सम्पन्न हुने भएको छ।