राष्ट्रपति, प्रधानमन्त्रीलगायत अन्य नेताहरूले जनाए सेना दिवसको शुभकामना

Army-1-1

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य नेताहरूले सेना दिवसको अवसरमा भारतीय सेनालाई शुभकामना जनाएका छन्। राष्ट्रपति मुर्मूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छिन्, “सेनादिवसको अवसरमा म भारतीय सेनाका जवानहरू, पूर्वसैनिकहरू र उनीहरूको परिवारलाई शुभकामना दिन चाहन्छु। राष्ट्रको सार्वभौमिकताको रक्षा र राष्ट्रिय सुरक्षाप्रति तपाईंहरूको अटूट प्रतिबद्धता सबैका लागि प्रेरणादायी छ। मातृभूमिको सेवामा तपाईहरूले दिएको अनगिन्ती बलिदानलाई राष्ट्रले सदा कृतज्ञतापूर्वक सम्झनेछ। संकट र आपतकालको समयमा तपाईहरूको मानवीय सेवा करुणाको प्रमाण हो। तपाईंहरूको असाधारण वीरता र साहस आउने पुस्तालाई प्रेरित गर्न जारी रहनेछ।” प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, “आज सेनादिवसको अवसरमा हामी भारतीय सेनाको अटूट साहसलाई सलाम गर्दछौं, जसले हाम्रो देशको सुरक्षा गर्न निरन्तर खटिएको छ। हामी ती बहादुर जवानहरूको बलिदानलाई सम्झन्छौं, जसले हरेक दिन करोडौं भारतीयहरूको सुरक्षा सुनिश्चित गरेका छन्।”

रक्षामन्त्री राजनाथ सिंहले लेखेका छन्, “सेना दिवसको अवसरमा हाम्रो वीर भारतीय सेनाका जवान र उनीहरूको परिवारलाई बधाई तथा शुभकामना। भारतीय सेना आफ्नो साहस, वीरता र बलिदानका लागि परिचित छ। राष्ट्रको रक्षा र प्राकृतिक विपद्को समयमा नागरिकहरूको सहयोगप्रति उनीहरूको अटूट प्रतिबद्धता प्रशंसनीय छ। राष्ट्रप्रति उनीहरूको उत्कृष्ट सेवाका लागि हरेक भारतीय सेनाप्रति आभारी छ।”

त्यस्तै, केन्द्रीय गृहमन्त्री अमित शाहले लेखेका छन्, “भारतीय सेनाका बहादुर जवान र उनीहरूका परिवारजनलाई ‘थल सेनादिवस’ को हार्दिक शुभकामना। सेनाका जवानहरूले आफ्नो अदम्य साहस र पराक्रमले भारतीय थल सेनालाई विश्वकै उत्कृष्ट सेनामध्ये स्थान दिलाएका छन्। चाहे दुर्गम मरुभूमि होस् वा हिउँले ढाकिएका हिमाल, हाम्रो सेना प्रत्येक परिस्थितिमा देशको सुरक्षा र सम्मानलाई सर्वोच्च राख्छ। मातृभूमिको रक्षामा आफ्नो प्राण अर्पण गर्ने वीर जवानहरूलाई ‘थल सेनादिवस’ को अवसरमा नमन गर्दछु।”

लोकसभा अध्यक्ष ओम बिरलाले लेखेका छन्, “थल सेना दिवसको अवसरमा भारतका सुरक्षा जवान र सैनिक अधिकारीहरूको अभिवादन गर्दछु। देशको आन्तरिक र बाह्य सुरक्षालाई बलियो बनाउनुका साथै भारतीय सेना शान्ति स्थापना र आपतकालीन अवस्थामा नागरिकहरूको सहयोग र राहत प्रदानमा महत्त्वपूर्ण भूमिका खेल्छ। राष्ट्रप्रतिको सेनाको समर्पण र प्रतिबद्धता सधैं प्रेरणादायी रहेको छ।” भारतले हरेक वर्ष १५ जनवरीका दिन आफ्नो सेनाको वीरता, समर्पण र बलिदानको सम्मान गर्न सेना दिवस मनाउँछ। यो दिन १९४९ मा जनरल (पछि फील्ड मार्शल) केएम करिअप्पाले अन्तिम ब्रिटिश कमान्डर-इन-चिफ जनरल सर फ्रान्सिस बुचरबाट भारतीय सेनाका पहिलो कमान्डर-इन-चिफको रूपमा पदभार ग्रहण गरेको ऐतिहासिक अवसरको सम्झना गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement