लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलमा शीर्ष स्थानमा रहने लिभरपूलको साथमा म्यानचेष्टर सिटी र चेल्सी ड्र-मा रोकियो। लिभरपूलले मंगलवार राति नटिंघम फरेष्टविरुद्ध म्याच १-१-ले ड्र गऱ्यो। यस अवे म्याचमा ७१ प्रतिशत पोजेशनको साथ खेले पनि लिभरपूल लामो समयसम्म पछि रहेको थियो। क्रिस वूडले आठौं मिनटमै गोल गरी नटिंघम फरेष्टलाई बढ़त दिलाए। पहिलो हाफको खेलमा लगातार आक्रमण गरे पनि लिभरपूलले बराबरी हासिल गर्न सकेन। दोस्रो हाफको खेलमा चाहिँ लिभरपूल म्याच बचाउन सफल भयो। असाधारण फर्ममा रहने यस टीमबाट डिओगो जोटाले ६६औं मिनटमा गोल गरे। प्रीमियर लीगमा यो लिभरपूलको लगातार दोस्रो ड्र हो। अहिले शीर्ष स्थानमा कायम यस टीमसँग २० वटा म्याचमा ४७ पोइण्ट्स रहेको छ। यसरी नटिंघम फरेष्ट २१ वटा म्याचमा ४१ पोइण्ट्सको साथ दोस्रो स्थानमा पुगेको छ। म्यानचेष्टर सिटीले पनि ब्रेण्टफोर्डविरुद्ध २-२-को ड्र-मा चित्त बुझाउनु पऱ्यो। म्याचमा एक समय त सिटीको जीत सुनिश्चित लागिरहेको थियो तर ब्रेण्टफोर्डले अन्तिम समयमा लगातार २ गोलको साथ म्याच ड्र गऱ्यो। यस अवे म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीबाट दुवै गोल फिल फोडेनले गरे। उनले ६६औं र ७८औं मिनटमा गोल गरे। यसरी ब्रेण्टफोर्डबाट योआने विस्साले ८२औं र क्रिस्टियन नोगार्डले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। यस ड्र पछि म्यानचेष्टर सिटी २१ वटा म्याचमा ३५ पोइण्ट्स लिएर छैटौं स्थानमा रहन पुग्यो। यसरी ब्रेण्टफोर्ड २८ पोइण्ट्सको साथ दशौं स्थानमा रहेको छ। चेल्सीले चाहिँ अन्तिम समयमा गोल गरी बोर्नमाउथविरुद्ध म्याच २-२-ले ड्र गऱ्यो। म्याचको शुरुवातमै बढ़त हासिल गरे पनि एक समय चेल्सी हारको नजिक पुगिसकेको थियो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीलाई कोल पाल्मरले १३औं मिनटमा बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। त्यसपछि जस्टिन क्लुईभर्टले ५०औं र एण्टोनी सेमेन्योले ६८औं मिनटमा लगातार २ गोल गर्दा बोर्नमाउथले २-१-को बढ़त हासिल गऱ्यो। अन्तमा रीस जेम्सले इञ्ज्युरी टाइमको पाँचौं मिनटमा गोल गरी चेल्सीलाई हारबाट बचाए। यस ड्र पछि चेल्सी ३७ पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। यसरी बोर्नमाउथ ३४ पोइण्ट्स लिएर सातौं स्थानमा रहेको छ। अन्य एउटा म्याचमा वेष्ट ह्यामले फूलह्यामलाई ३-२-ले पराजित गऱ्यो।