जोरथाङ: ऐतिहासिक जोरथाङ माघे संक्रान्ति मेलाको आजदेखि विधिवत रूपमा शुभारम्भ भएको छ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरको मुख्य आतिथ्यमा तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थितिमा माघे संक्रान्ति मेलाको आज औपचारिक उद्घाटन भयो।
आगामी २१ जनवरीसम्म लगातार चल्ने यस महोत्सवको प्रारम्भिक चरणमा राज्यपाल माथुर र मुख्यमन्त्री तामाङले जोरथाङस्थित त्रिकालेश्वर मन्दिरमा आयोजित माघे संक्रान्ति पूजामा सहभागी बनेर पूजा अर्चना गरे। राज्यपाल र मुख्यमन्त्रीले सिक्किम र सिक्किमेली जनताको सुख, समृद्धि एवं कल्याणको कामना गर्दै पूजा अर्चना गरे।
यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्ण कुमारी राई, क्षेत्र विधायक तथा समारोह आयोजक समितिका प्रमुख संरक्षक मदन सिन्चुरी, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, सल्लाहकार एवं अध्यक्षगण, विभिन्न विभागीय अधिकारीहरू, कर्मचारीहरू लगायत अन्य गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यसपछि, जोरथाङ फुटबल स्टेडियममा आयोजित मुख्य समारोहमा राज्यपाल माथुरले माघे मेला २०२५ विधिवत रूपमा शुरू भएको औपचारिक घोषणा गरे। यसैगरी, अतिथिहरूले माघे मेला समारोहको झण्डा उत्तोलन गर्नका साथै शान्तिको प्रतीक एक जोडी परेवा उडाए। यस अवसरमा राज्यपाल र मुख्यमन्त्रीले संयुक्त रूपमा केक काटेर कार्यक्रमको शुभारम्भ गरे।