खरसाङ: खरसाङमा आगामी २४ देखि २६ जनवरीसम्म हुने वाइट अर्किड फेस्टिभल अन्तर्गत आगामी 26 जनवरीको दिन खुल्ला म्याराथनको पनि आयोजना गरिने भएको छ। यसै विषयलाई लिएर मंगलबार खरसाङमा आयोजक समितिको तर्फबाट पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। उक्त म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ वाइट अर्किड फेस्टिभलको म्याराथन तर्फको सभापति निर्मल गुरुङले वाइट अर्किड फेस्टिवल अन्तर्गत २६ जनवरीमा खुल्ला म्याराथनको आयोजना गरिएको र यसमा सहभागीहरुले नि:शुल्क भाग लिन पाउने बताएका छन्।

उनले बताए अनुसार उक्त म्याराथन अन्तर्गत ५ किलोमीटरको म्याराथन गिद्ध पहाडस्थित भ्यु पोइन्टबाट शुरु गरिने अनि १० किलो मीटरको म्याराथन महानदीदेखि शुरु हुने र खरसाङको मन्टिभियट खेल मैदानमा समाप्त हुने जानकारी गराएका छन्। उनले यो म्याराथनमा भाग लिन चाहानेहरुले आगामी २४ जनवरीभित्रमा आफ्नो नाम दिने अनुरोध पनि गरेका छन्। यसको लागि सबैले खरसाङ बजारको हिल कार्ट रोडमा फारम भर्न र नाम बुझाउन सक्ने जानकारी गराएका छन् भने अनलाईन पनि नाम दर्ता गराउन सक्ने भएको जानकारी गराएका छन्। यसको साथै सहभागीहरुले नि:शुल्क रुपमा भाग लिन सक्ने पनि जानकारी गराएका छन्। यसको साथै खरसाङ वाइट अर्किड फेस्टिवल विषयमा आयोजक समितिको सदस्य डेभिस छेत्रीले आगामी २४ देखि २६ जनवरीसम्म खरसाङमा वाइट अर्किड फेस्टिभल आयोजना गरिने र यसै फेस्टिवल अन्तर्गत २६ जनवरीमा म्याराथनको पनि आयोजना गरिने भएको जानकारी गराएका छन्। उक्त पत्रकार सम्मेलनमा खरसाङ वाइट अर्किड फेस्टिवल अन्तर्गत म्याराथन तर्फको सल्लाहकार मोहन योञ्जन र बीरबल पाख्रिन पनि उपस्थित रहेका थिए।