सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा जलपाइगढ़ी पुलिसले रोचक जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत मंगलवार सुकना हाई स्कूल मैदानमा खेलिएको पहिलो प्री-क्वार्टर फाइनल म्याचमा जलपाइगढ़ी पुलिसले मिलन समिति, कलकत्ताविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। म्याचको हाफ टाइमसम्म १ गोलले पछि रहे पनि दोस्रो हाफमा ४ गोल गरी जलपाइगढ़ी पुलिसले म्याच जित्यो। विजेता टीमको तर्फबाट सुरज रसाईलीले ५९औं, उत्तम कुजुरले ६०औं, दिनारले ७५औं र बिकास रोयले ७८औं मिनटमा गरे। यसरी मिलन समितिको तर्फबाट गुल्फामले पाँचौं मिनटमा गोल गरे। उत्तम कुजुरले प्लेयर अव् द म्याच को पुरस्कार जिते। बुधवार खेलिने दोस्रो प्री-क्वार्टर फाइनलमा युनाइटेड फूटबल क्लब दार्जीलिङ र कञ्चनजंघा फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ जनवरीमा खेलिनेछ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।