काठमाडौं: माघे संक्रान्तिको अवसरमा चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रको फस्टलुकले दर्शकमाझ उत्सुकता जगाएको छ। चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ।पोस्टरमा दुईवटा कलाकार देखिएका छन्। एकजना राजर्षी पहिरनमा रहेको देखिन्छन् भने अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ। राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्दछ। उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन्।
यो तस्वीर भित्तामा फ्रेममा राखिएको जस्तो देखिन्छ। यसले आफ्ना दरसन्तानको सम्झनामा पछिल्लो पुस्ताले फ्रेमिङ गरेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ। तर, प्रष्ट छैन। यो फस्टलुकले समस्या आफैँमा रहेको झल्को देखिन्छ। ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ लेखिएको स्लोगनले व्यक्ति स्वयंमा समस्या रहेको संकेत गर्छ। राजा होस् वा नागरिक समस्या हरेक व्यक्तिमा छ भन्ने यो स्लोगन र पोस्टरले बताउँछन्।
त्यसैले सिनेमाले पनि व्यक्ति हरेक व्यक्तिमा छ भन्ने कथा भन्ने अनुमान लगाउन सकिन्छ। विशेष कुरा के छ भने, यी दुवै पात्र पल शाहले निभाएका हुन्। फस्टलुक पोस्टर र स्लोगनको कारणले चलचित्रले दर्शकहरूलाई गहिरो सन्देश दिने अपेक्षा गरिएको छ। निर्माण पक्षले फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै बाँकी सामग्री ट्रेलरमा आउने बताएको छ। जसअनुसार अब ट्रेलर सार्वजनिक भएपछि थप जानकारी पाइनेछ। चलचित्रको फस्टलुक पोस्टरले दर्शकमा उत्सुकता जगाउने निश्चित छ। परिच्छेद सेनले निर्देशन गर्ने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन्। ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए। चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन्। यो चलचित्र दशैंको फूलपातीमा आउने निर्माण टिमले बताएको छ।