मंगन: नामप्रिकदाङ मैदानमा आयोजित वार्षिक नामसुङ महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ। यो पर्व १९७६ देखि लेप्चा संस्कृतिको महत्वपूर्ण पर्वको रुपमा मनाइने गरिएको छ भने यसलाई इतिहासको सबैभन्दा पुरानो नामसुङ महोत्सवको रूपमा मानिएको छ। पछिल्लो वर्ष ४ अक्टोबर २०२३ मा आएको बाढ़को कारण ऐतिहासिक नामप्रिकदाङ मैदानलाई क्षति बनाएको थियो। जसको कारण यस महोत्सवलाई अस्थायी रूपमा स्थगित गरेको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङको आर्थिक सहयोग र मन्त्री तथा क्षेत्र विधायक पिन्छो नामग्याल लेप्चाको प्रयासको कारण नामप्रिकडाङ मैदान पुनर्स्थापित गरेर यस वर्ष महोत्सव पुनः आयोजन गरिएको थियो। यस वर्षको महोत्सवको एक प्रमुख आकर्षण जङ्गु ब्लक प्रशासनिक केन्द्रको सहभागिता रहेको थियो। जसमा केन्द्रले फोटो ग्यालरी र प्रदर्शनी स्टल राखेर पछिल्ला पचास वर्षको इतिहासमा महत्वपूर्ण पदक्षेप लिएको थियो। जसमा जङ्गुको प्राकृतिक सौन्दर्य र विशिष्टता, लेप्चा समुदायको परम्परा, संस्कृति र सम्पदा, आदिम लेप्चा समुदायको पुराना फोटोहरु र लेप्चा समुदायका पुराना कलाकृतिहरूले निकै आकर्षण थपेको थियो। यसका साथै बीएससी जङ्गुले जङ्गुको इतिहास, जनसांख्यिकी, सञ्चारको विकास, यातायात र इतिहासबारे विस्तृत रुपमा जानकारी गराएको थियो। प्रदर्शनीले विभिन्न ठाउँबाट आउने मानिसहरुको ध्यानाकर्षण गराएको थियो। ब्लक प्रशासनिक केन्द्रले सिक्किमको विविध परम्पराहरूको संरक्षणमा पुऱ्याएको सहयोगप्रति राज्य सरकार र सम्बन्धित विभागलाई आभार व्यक्त गरेको छ।










