गान्तोक: राज्य सरकारको शिक्षा विभागको पहलमा राज्यका सरकारी महाविद्यालयका विद्यार्थीहरूलाई शैक्षिक भ्रमणको निम्ति दिल्ली, आगरा र जयपुर पठाइएको छ। यस भ्रमणमा शिक्षक र विद्यार्थीहरूको कूल संख्या १२५ रहेको छ। सात दिवसीय भ्रमणमा गएका विद्यार्थीहरू १९ जनवरीको दिन सिक्किम फर्किने बताइएको छ। आज उनीहरूलाई राज्यका शिक्षा विभाग मन्त्री राजु बस्नेतले एसएनटी परिसरबाट झण्डा हल्लाएर प्रस्थान गराएका हुन्।
यस भ्रमण टोलीमा राज्यका पाँचवटा महाविद्यालयका विद्यार्थीहरू सामेल छन् जसमा मागसिला, तादोङ, बुर्तुक कानून महाविद्यालय, शेडा महाविद्या र साम्दोङ सरकारी महाविद्यालयका विद्यार्थीहरू रहेका छन्। यस भ्रमणको मुख्य उद्देश्य देशका विभिन्न शहर रहेका ऐतिहासिक, सांस्कृतिक र शैक्षिक स्थलहरूको भ्रमण मार्फत विद्यार्थीहरूको ज्ञान र दानकारी बड़ाउनु रहेको छ।
सहभागीहरूको सुरक्षा र आराम सुनिश्चित गर्दै यात्रालाई सहज बनाउन दुई बसको व्यवस्था गरिएको छ। शिक्षा विभाग अनुभवात्मक सिकाइ र सांस्कृतिक आदान-प्रदानलाई बढावा दिनको निम्ति यस प्रकारको पहल गरिएको हो।
मन्त्री राजु बस्नेतले विद्यार्थीहरूप्रति सरकारको प्रतिबद्धता र हेरचाहमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई शैक्षिक भ्रमणको महत्वमाथि जोर दिए। उनले विद्यार्थीहरूलाई आफ्नो अनुभवहरू दस्तावेजीकरण गर्न जर्नल लेख्ने सल्लाह पनि दिए। यस अवसरमा शिक्षा विभागका सचिव छेवाङ ग्याछो भोटिया लगायत अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहेका थिए।