अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ। केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ। प्रतिघण्टा ६० माइलको दरले हावा चलिरहेको छ। जसका कारण डढेलो धेरै भूभागमा फैरिहेको रहेको छ। लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको संख्या २४ पुगेको पुष्टि गरेका छन्। आगलागीका कारण इटन क्षेत्रमा ११ र पालिसेड्स क्षेत्रमा ५ जनाको मृत्यु भएको छ। आगलागीमा १६ जना बेपत्ता भएको जनाइएको छ। लस एन्जलस क्षेत्रमा अहिले चार वटा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ। सबैभन्दा बढी क्षति पालिसेड्स क्षेत्रमा भएको छ जहाँ २३ ह जार एकडभन्दा बढी क्षेत्र जलेको छ। आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमानलाई बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुगेको जनाएको छ। डढेलो ४० हजार ऐकर भन्दा धेरै क्षेत्रमा फैलिएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्। हालसम्म सयौँ घर र गाडीहरू जलेका छन्। एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन्। हावाहुरीले रुखहरू ढलेका छन्। लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन्। वायुको गुणस्तर निकै प्रदूषित रहेको अधिकारीहरूले बताएका छन्। खरानीका सूक्ष्म कण र धुवाँले आकाश ढाकिएको छ। प्रशासनले मृतकको संख्या अझै बढ्नसक्ने जनाएको छ।