खरसाङको अम्बटेमा स्वामी विवेकानन्द जयन्ती पालन

IMG-20250113-WA0294

खरसाङ: खरसाङ खण्डको अम्बटे चियाबारीस्थित महाकाली मन्दिर परिसरमा स्वामी विवेकानन्दको १२औँ जन्म जयन्तीलाई राष्ट्रिय युवा दिवसको रूपमा मनाइयो। यहाँको महाकाली मन्दिर सञ्चालन कमिटीको आयोजनामा महान दार्शनिक, वरिष्ठ आध्यात्मिक औ प्रशिद्ध समाज सुधारक स्वामी विवेकानन्द पनि माता काली कै परम भक्त हुनुको कारणले नै उक्त कार्यक्रम अम्बटे महाकाली मन्दिर परिसरमा राखिएको आयोजक समितिले कार्यक्रम अवधि जनाए। आकाशवाणी खरसाङका प्रादेशिक समाचार विभागका अशोक चौरासियाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा गत महिना अन्तर्राष्ट्रिय नेपाली संस्कृति महासम्मेलन अयोध्यामा सहभागी हुने पन्ध्र सदस्यीय टोलीलाई पनि उक्त मन्दिर कमिटीले सम्मान जनायो। आकाशवाणी खरसाङबाट समाचार वाचिका सेरोन मंगरले स्वामी विवेकानन्दबारे आफ्नो वार्ता प्रस्तुत गरे भने अम्बटेका अयोध्या दर्शन टोलीलाई सही मार्गदर्शन गरिदिए वापत् मन्दिर कमिटिका सचिव कल्याण छेत्रीले अशोक चौराशियाप्रति कालि मन्दिरको पक्षमा आभार जनाए। आफ्नो सम्बोधनमा अशोक चौरासियाले स्वामी विवेकानन्दको बाल्य जीवनका विभिन्न रोचक प्रशंगहरुको उल्लेख गर्दै अन्तर्राष्ट्रिय नेपाली संस्कृति महासंघको उद्देश्य र आवश्यकताबारे विस्तृत जानकारी गराए साथै आगामी वर्ष उक्त महासंघको सम्मेलन दक्षिण भारतको रामेश्वरममा हुने कुरोको पनि जानकारी गराए। यसै प्रसंगमा सुदर्शन प्रधानले आफ्नो अयोध्या भ्रमणबारे जानकारी गराए। अम्बटे शिवधामका मूल पुरोहित गंगाप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई भूपेन्द्र शर्माले सञ्चालन गरेका थिए भनी काली मन्दिर सञ्चालन कमिटीका सभापति दुर्गा खड्का छेत्रीले जानकारी दिएका छन्।

About Author

Advertisement