खरसाङ: भारतीय मानवाधिकार एशोसिएसन, खरसाङ शाखाका अध्यक्ष अधिवक्ता पंकज गुप्ताको नेतृत्वमा रहेको एउटा टोलीले खरसाङ महकुमा शासक आईएएस विन्दवासी तेजा दिपकसँग भेट गरी ज्ञापन चढाएका छन्। यस भेटघाट विषय जानकारी दिँदै ज्योति कुमार मुखियाले भने, “मानवाधिकार एशोसिएसनको टोलीले महकुमा शासकलाई भेट गरेर सुधार गृहमा न्यायको प्रतीक्षामा रहेका व्यक्तिहरूलाई कोर्टमा उपस्थित गराउँदा खानाको व्यवस्था नभएको गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न एउटा ज्ञापन पत्र चढाएको छ। एशोसिएसनका सदस्यहरूले गत 10 दिसम्बर 2024 काे दिन महकुमा शासकको अनुमति लिएर सुधार गृह भ्रमण गरेको थियो। त्यहाँ कैद व्यक्तिहरू सँगको कुराकानीमा हामीले थाहा पायौं कि उनीहरूलाई कोर्टमा सुनवाईको निम्ति लैजाँदा खानाको व्यवस्था नहुँदो रहेछ। घण्टौं कोर्टमा भोको पेट बस्नु परेको कुरा सुधार गृहमा न्यायको प्रतीक्षामा रहेका व्यक्तिहरूको गुनासो रहेको थियो। यो तथ्यलाई सुधार गृहका कर्मचारीले पनि अनुमोदन गरेको थियो। त्यही गुनासोलाई हामीले सम्बन्धित अधिकारी कहाँ पुर्याउने कार्य आज गरेका हौं। एशोसिएसनको मांग न्यायको प्रतिक्षामा रहेका सुधार गृहका व्यक्तिहरुलाई कोर्टमा उपस्थित गराउँदा खानाको व्यवस्था हुनुपर्छ।”
मुखियाले जानकारी दिए अनुसार महकुमा शासक तेजा दिपकले एशोसिएसनको ज्ञापनलाई स्वीकार गरेका छन्। यस मुद्दालाई अघि लैजाने अनि समाधान गर्ने वचन दिएका छन्।
एशोसिएसनका सदस्यहरूले खरसाङमा भर्खर मात्र स्थानान्तर भएर आएका ट्राफिक ओसी वीरेन्द्र छेत्रीलाई भेट गरेर खरसाङमा स्वागत जनाएका छन्। साथै एशोसिएसनका गतिविधिहरुमाथि उनलाई अवगत गराए। आज भेटघाट जानेहरूमा पंकज गुप्ता, ज्योतिकुमार मुखिया, सरोज चौहान, तापेश्वर प्रसाद, आनन्दकुमार झा, राजकुमार सिँह, सर्वर आलम अनि निर्मल गुरूङ रहेका थिए।