जीटीएले सदैव हाम्रा समाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्दै आइरहेको छ: अनित थापा
खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभागको आयोजनामा आज गाडीधुरा सार्वजनिक भवनमा पुरस्कार अलङ्करण समारोह सम्पन्न भयो। कार्यक्रममा मुख्य अतिथिको रुपमा जीटीएका मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रूपमा जीटीए सभाका अध्यक्ष अञ्जुल चौहान, उपाध्यक्ष राजेश चौहान, सचिव सुदेन छिरिङ भूटिया, मुख्य कार्यपालका सल्लाहकार गोपाल लामा, सूचना एवम् सास्कृतिक विभाग कार्यकारीसभासद अनोश थापा, सङ्गीतकार शान्ति ठटाल, वरिष्ठ साहित्यकार डा0 गोकुल सिन्हा लगायत विभिन्न विभागीय अधिकारीहरू, गायक, सङ्गीतकारहरू, जीटीए सभाका सभासदहरू, पञ्चायत समिति अध्यक्षहरू, पञ्चायत प्रधान, उपप्रधान तथा सदस्यहरू, कवि, साहित्यकारहरू आदिको विशेष उपस्थिति रहेको थियो। भानुकान्त घिसिङ, सबिना गिरी अनि विमल राईद्वारा संयुक्त रूपमा सञ्चालित समारोहमा संगीत विधाको छुजाङ डुक्पा स्मृति पुरस्कार प्रख्यात गायिका लम्हु छिरिङ भूटियालाई प्रदान गरियो भने संगीत विधामा अरूणा लामा स्मृति पुरस्कार सङ्गीतकार दीप वाइबालाई प्रदान गरियो। त्यसरी नै नाट्य विधामा शिवकुमार राई स्मृति पुरस्कार कलाकार मेनुका प्रधानलाई प्रदान गरियो भने साहित्य विधामा गिरी पुरस्कार वरिष्ठ साहित्यकार विचन्द्र प्रधानलाई प्रदान गरियो। यी सम्मानहरू मुख्य अतिथि अनित थापा, विशिष्ट अतिथिहरू अञ्जुल चौहान, राजेश चौहान, कार्यकारि सभासद अनोश थापा, सचिव सुदेन छिरिङ भूटिया आदिको बाहुलीबाट प्रदान गरियो। उनीहरूलाई खदा लगाएर शाल तथा जातिय टोपी लगिएर अनि सम्मानपत्र, स्मृति चिन्ह तथा नगद राशि प्रदान गरेर सम्मान जनाइयो भने उनीहरूलाई प्रदान गरिएको सम्मानपत्र मुकुन्दमणि थापा, लाक्पा शेर्पा, सबिना गिरी अनि सुरज गुरूङले पठन गरेका थिए। समारोहमा सूचना एवम् सास्कृतिक विभाग, खरसाङका कलाकारहरूले सांगीतिक प्रस्तुतिहरू दिए भने सम्मानित व्यक्तित्वहरूले उनीहरूलाई यसरी सम्मान जनाइएकोमा जीटीएप्रति आभार व्यक्त गरे। कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए मुख्य कार्यपाल अनित थापाले जीटीएले सदैव हाम्रा समाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्दै आइरहेको तथा भाषा, साहित्य, संगीत एवम् अन्य विधाहरूमा वर्तमान समयका युवावर्गलाई प्रेरणा अनि प्रोत्साहन दिने उद्देश्यले यस्ता कार्यक्रमहरू गरिरहेको जनाए। तिनले आगामी दिनहरूमा पनि यस्ता धेरै कार्यक्रमहरू गरिने जनाए। समारोहलाई सफल पार्न सहयोग पुऱ्याउने सबैप्रति जीटीए कार्यकारि सभासद अनोश अनोश थापाले आभार प्रकट गरे।




