चण्डीगढ़: भारतका शीर्ष क्रमका ब्याटर श्रेयस अय्यरलाई यस साल मार्चमा शुरु हुने आईपीएलको १८औं सीजनको निम्ति पञ्जाब किंग्सले आफ्नो कप्तान नियुक्त गऱ्यो। कलकत्ता नाइट राइडर्सलाई आफ्नो कप्तानीमा २०२४-मा आईपीएल च्याम्पियन बनाउने दाहिने हातका यस ब्याटरलाई पञ्जाब किंग्सले गत वर्ष नोभेम्बरमा भएको मेगा लिलामीमा २६.७५ करोड़ रुपियाँमा खरीद गरेको थियो। यसको साथ उनी आईपीएल इतिहासको दोस्रो सबैभन्दा महँगो खेलाड़ी बनेका थिए। अब पञ्जाब किंग्समा अय्यरले नवनियुक्त प्रशिक्षक रिकी पोण्टिंगसँग फेरि काम गर्नेछन्। यी दुईजनाले दिल्ली क्यापिटल्स टीममा पनि एकसाथ काम गरेका थिए अऩि टीमले २०२०-को आईपीएल फाइनलमा स्थान बनाएको थियो। अय्यरले एउटा बयानमा भने, टीमले ममाथि भरोसा देखाएकोमा म सम्मानित अनुभव गरिरहेको छु। म प्रशिक्षक पोण्टिंगसँग फेरि काम गर्नको निम्ति उत्सुक छु। टीम मजबूत देखिएको छ अनि यसमा खेलाड़ीहरूको असल मिश्रण रहेको छ। टीम म्यानेजमेण्टले देखाएको भरोसालाई हामी आफ्नो पहिलो खिताब जितेर सही साबित गर्न चाहन्छौं। उल्लेखनीय छ, अय्यरको निम्ति २०२४ सीजन यादगार रह्यो, जसमा उनले केकेआर-लाई आईपीएल च्याम्पियन बनाउनको साथै मुम्बईलाई दोस्रो सैयद मुश्ताक अली ट्रफी पनि दिलाए। यसको साथमा उनी रणजी र ईरानी ट्रफी जित्ने मुम्बई टीमको पनि हिस्सा रहे।