२ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा लयमा रहने दार्जीलिङ पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा शुक्रवार खेलिएको पूल ए-को म्याचमा खिताब जित्ने प्रबल दावेदार दार्जीलिङ पुलिसले परिमलनगर स्पोर्टिंग क्लबलाई ७-४-ले पराजित गऱ्यो। म्याचको शुरुमै गोल खाएपछि दार्जीलिङ पुलिसले असाधारण पुनरागमन गर्दै जीत दर्ता गऱ्यो। म्याचमा विजेता टीमबाट नयन प्रधानले १४औं र ४६औं मिनटमा गोल गरे। यसबाहेक सिद्धान्त छेत्रीले १६औं, शुभम लामा (हर्के)-ले २८औं, आदर्श तामाङले ४३औं, अभिषेक दर्जीले ५५औं र वांगचुक लामाले ५८औं मिनटमा गोल गरे। यसरी नै परिमलनगर एससी-बाट आशिषले चौथो र ५३औं मिनटमा जोड़ी गोल गरे। आशिषले दोस्रो गोल पेनल्टीबाट गरे। यसबाहेक पेमाले ३१औं र भुषालले ५३औं मिनटमा गोल गरे। दार्जीलिङ पुलिसका सेण्टर फरवर्ड नयन प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। दार्जीलिङ पुलिसले ६ सेप्टेम्बरको दिन खेलिने क्वार्टर फाइनलमा वरियर्स एकाश, झापाको चुनौती स्वीकार्नेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १३ सेप्टेम्बरमा हुनेछ।