अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। जसका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ। धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ। हावाको गति बढेसँगै आगलागी बढेको छ। हाल यो ८० किलोमिटर/घण्टाको गतिमा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने बताइएको छ। अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्निनियन्त्रकहरू आइपुगेका छन्। आगलागीको संकटका बीच लस एन्जलसको सान्ता मोनिका शहरमा लुटपाटको घटनाहरू पनि भएका छन्। प्रशासनले कर्फ्यु घोषणा गरेको छ। यसै क्रममा २० जनालाई पक्राउ गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समाचारअनुसार, लस एन्जलसमा आगलागीका कारण हालसम्म करिब १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ। यहाँ आगो केही हदसम्म नियन्त्रणमा आएको छ।