खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डसको उपस्थितिमा आज खरसाङ महकुमा क्षेत्रका १५४ परिवारहरूले पहाडको नयाँ राजनैतिक पार्टी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको झण्डा समाएका छन्। आज खरसाङको गोर्खा जनपुस्तकालयमा संयोजक अजय एडवर्ड्सको विशेष उपस्थितिमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सभा सम्पन्न भयो। सभामा पार्टीको वरिष्ठ पदाधिकारीहरु एंव जीटीए सभाको पूर्व अध्यक्ष प्रदीप प्रधान आदि उपस्थित रहेका थिए। सभामा खरसाङ नगरपालिका क्षेत्रका धेरैवटा वार्डहरूबाट ६५ परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको झण्डा समाएका छन्। त्यसरी नै खरसाङको सिपाहीधुराबाट २६ परिवार, मालुटारबाट १३ परिवार, मार्गेहोपबाट १३ परिवार, बलबम बस्ती, गौरी शंकर, रंगबुल, धोतरिया, मुण्डाकोठीबाट २५ परिवार साथै मंग्पूबाट १२ परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीमा सामेल भएको जानकारी प्राप्त भएको छ। यी सबै समर्थकहरूलाई प्रदीप प्रधान, एल्फ्रेड तामाङले पार्टीको झण्डाहरु प्रदान गरेर पार्टीमा स्वागत जनाएका थिए।

उक्त समर्थन कार्यक्रम अघि इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका समर्थकहरूले संयोजक अजय एडवर्डको विशेष उपस्थितिमा खरसाङ बजारमा मौन जुलुस पनि निकालेका थिए।
यस अवसरमा बोल्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डले भने, ‘दार्जीलिङ पहाडमा धेरैवटा राजनैतिक पार्टीहरू छन् तर कुनै पनि राजनैतिक दल स्वतन्त्र छैनन्। कसैको कोलकोतामा मालिक छन् भने कसैको दिल्लीमा छन्। त्यसैकारण पहाडको कुनै पनि राजनैतिक दलहरूको नेतृत्वहरूले स्वतन्त्र भएर गोर्खा जाति र पहाडको हितमा काम गर्न सक्दैन। पहाड र गोर्खा जातिको बारेमा बोल्न परेको खण्डमा उनीहरूले कोलकता अथवा दिल्लीको अनुमति लिनु पर्नेछ। तर इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा यस्तो पार्टी हो जसले गोर्खा जातिको हक र अधिकार साथै पहाड तराई डुवर्सको हितमा निडररसंग बोल्न सक्छ अनि काम गर्न सक्छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ड गोर्खाहरूको जातीय मुद्दालाई फत्ते गर्न जन्मेको पार्टी हो।

त्यसैले गोर्खा जातिको मुद्दालाई प्राथमिकताको साथ राख्ने गरेको छ। पहाड तराई डुवर्स एंव गोर्खाहरूको मुद्दाबारे इण्डियन गोर्खा जनशक्ति फ्रण्टले कसैसँग सम्झौता गर्न सक्दैन। पिता पूर्खाले सिँचेको भूभागबारे आईजीजेएफले कसैसंग सम्झौता गर्न सक्दैन।’