खरसाङ: घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा तकदाह एफसी सेमी फाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोटर्स एसोसिएशनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आईतबार भएको दोस्रो क्वाटर फाइनल खेल तकदाह एफसी र नयाँ कमान एफसीमाझ सम्पन्न भएको छ। यस खेलको सातौं मिनटमा नै नयाँ कमानले गोल गरेर बढत बनाएका थिए। तर लगत्तै तकादाहको तर्फबाट जर्सी नम्बर ६ सुरज छेत्रीले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। तर त्यसपछि भने तकदाह एफसीले लगातार अन्तरालमा २ गोल गरेका थिए अनि पहिलो हाफको खेल ३-१ को अन्तरमा समाप्त भएको थियो। दोस्रो हाफको खेलमा पनि तकदाहले लगातार अन्तरालमा ३ गोल गरेर गोल ६ पुराएका थिए। एकतर्फी खेलमा तकदाहले नयाँ कमानलाई ६-१ को अन्तरले पराजित गर्दै सजिलै सेमी फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा म्यान अफ् द म्याच तकदाह एफसीको जर्सी नम्बर ६ सुरज छेत्री चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष सुकमान उराव उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा पञ्चायत सदस्य अनिल तामाङ र शिक्षक एंव साहित्यकार युवराज सुन्दास उपस्थित रहेका थिए। आजको खेलमा पराजित दल नयाँ कमान एफसीलाई स्मृति चिन्ह प्रदान गरिएको छ। अब आगामी १४ जनवरीमा हुने तेस्रो क्वाटर फाइनल खेल सिविटार युनाइटेड र उदय संघ घैयाबारीमाझ हुने भएको छ। यस खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोटर्स एसोसिएसनको सभापति सम्पल राईले यस खेलमा तकदाह एफसीले ६-१ को अन्तरले सजिलै बिजय बन्दै सेमी फाइनलमा प्रवेश गरेको बताएका छन्। उनले बताए अनुसार गत ११ जनवरी शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा जलपाईगुडी नआएपछि चाँद एफसी सोझै सेमी फाइनलमा प्रवेश गरेको छ। अब आगामी १४ जनवरीमा हुने तेस्रो क्वाटर फाइनल खेल सिविटार युनाइटेड र उदय संघ घैयाबारीमाझ सम्पन्न हुने भएको साथै १५ जनवरीमा चौथो तथा अन्तिम क्वाटर फाइनल खेल हुने जानकारी गराएका छन्।सभापति सम्पल राईले घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनल खेल आगामी १८ र १९ जनवरीमा हुने अनि फाइनल खेल आगामी २६ जनवरीमा सम्पन्न हुने भएको जानकारी गराएका छन्। उनले यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्।