खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीमा रहेको सांगे टाँसी छोईलिङ्ग गुम्बालाई बौध्द धर्म गुरु पेम्बा रिपोर्छेकी पत्नी जोतिस्ना लामाद्वारा भगवान् बुध्दको मूर्ति अर्थात् सांगेको कु (मूर्ति) प्रदान गरिएको छ। खरसाङको सामी लाखाङ गुम्बामा बौध्द धर्म गुरु पेम्बा रिपोर्छेको विशेष उपस्थितिमा उनकी पत्नी जोतिस्नाद्वारा सिविटारको सांगे टाँसी छोईलिङ्ग गुम्बाको प्रतिनिधिहरुलाई उक्त सांगेको कु (मूर्ति) प्रदान गरिएको छ। यस अवसरमा सिविटारका सांगे टाँसी छोईलिङ्ग गुम्बा सञ्चालन समितिको सभापति फुर्बा तामाङ, उप सभापति प्रेमसिंह लामा, कार्यकारी सदस्यहरु नगेन्द्र तामाङ, समील तामाङ र आनन्द तामाङ उपस्थित रहेका थिए। यस अवसरमा सांगे टाँसी छोईलिङ्ग गुम्बाको सभापति फुर्बा तामाङले बौध्द धर्म गुरु पेम्बा रिपोर्छे र उनकी पत्नी जोतिस्नालाई सांगेको कु प्रदान गरेकोमा गुम्बाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्। उनले सांगेको कु गुम्बामा स्थापना गरिने बताएका छन्। उनले सिविटार चियाबारीको सांगे टाँसी छोईलिङ्ग गुम्बाको निर्माण गत वर्ष २०२४ देखि थालिएको र यस गुम्बाको निर्माण कार्य पूरा भएपछि उदघाटन गरिने जानकारी गराएका छन्। उनले आज प्रदान गरिएको सांगेको कु गुम्बामा स्थापना गरिने जानकारी गराएका छन्। उल्लेखनीय छ सिविटारको सांगे टाँसी छोईलिङ्ग गुम्बाको निर्माण कार्यमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले सहयोग गरेको जानकारी प्राप्त भएको छ।