- आगन्तुकहरूका सुविधाका लागि महाकुम्भमा अतुल्य भारत मण्डप र समर्पित इन्फोलाइन
- आगन्तुकहरूका लागि लक्जरी आवास, टुर प्याकेज र सुधारिएको कनेक्टिभिटी
- एलायन्सद्वारा महाकुम्भसँग हवाई सम्पर्क विस्तार गर्न पर्यटन मन्त्रालयसँग साझेदारी
- महाकुम्भको भव्यतालाई कैद गर्न विशेष फोटोशुट र भिडियो ग्राफी परियोजना
नयाँ दिल्ली: पर्यटन मन्त्रालय महाकुम्भ २०२५ लाई मात्र आध्यात्मिक समागमका लागि होइन, विश्वव्यापी पर्यटनका लागि पनि ऐतिहासिक आयोजन बनाउने तयारीमा छ। यो पवित्र अवसरको उत्सव मनाउन मन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि विभिन्न पहल गरिरहेको छ। महाकुम्भ संसारका सबैभन्दा ठूला र महत्त्वपूर्ण धार्मिक समागममध्ये एक हो, जुन हरेक १२ वर्षमा भारतका चार स्थानहरूमध्ये एक स्थानमा आयोजना गरिन्छ।

महाकुम्भ २०२५ उत्तर प्रदेशको प्रयागराजमा १३ जनवरीदेखि शुरु हुनेछ र २६ फरवरी २०२५ सम्म चल्नेछ। यसलाई पूर्ण कुम्भ पनि भनिन्छ। यस विशाल कार्यक्रममा विश्वभरका लाखौं भक्त, पर्यटक र तीर्थयात्रीहरू आउने अपेक्षा गरिएको छ। यो भारतको सांस्कृतिक, आध्यात्मिक सम्पदा र पर्यटन क्षमताको प्रदर्शन गर्ने अद्वितीय अवसर हो।

पर्यटन मन्त्रालयले महाकुम्भमा ५,००० वर्गफुटको विशाल “अतुल्य भारत मण्डप” स्थापना गर्दैछ, जसले विदेशी पर्यटक, विद्वान, अनुसन्धानकर्ता, फोटोग्राफर, पत्रकार, प्रवासी समुदाय, भारतीय प्रवासीहरू आदि सबैलाई सुविधा प्रदान गर्नेछ। यो मण्डपले आगन्तुकहरूलाई भारतको समृद्ध सांस्कृतिक सम्पदा र कुम्भ मेलाको महत्व अनुभव गराउने अनौठो अवसर प्रदान गर्नेछ। यस मण्डपमा “देखो अपना देश” भन्ने जनमत सर्वेक्षण पनि हुनेछ, जसमा आगन्तुकहरूले भारतका आफ्नो मनपर्ने पर्यटन स्थलहरूका लागि मतदान गर्न सक्नेछन्।

महाकुम्भ-२०२५ मा सहभागी हुने विदेशी पर्यटक, प्रभावशाली व्यक्तित्वहरू, पत्रकारहरू र फोटोग्राफरहरूको विशेष आवश्यकतालाई पूरा गर्नका लागि भारतको पर्यटन मन्त्रालयले समर्पित टोल-फ्री पर्यटक जानकारी लाइन (१८००१११३६३ वा १३६३) शुरु गरेको छ। यो सेवा अंग्रेजी र हिन्दी भाषामा मात्र नभई अन्य १० अन्तर्राष्ट्रिय भाषाहरू र तमिल, तेलुगु, कन्नड, बङ्गाली, असमिया, तथा मराठी लगायतका भारतीय स्थानिय भाषाहरूमा पनि उपलब्ध छ। यो जानकारी लाइनले अन्तर्राष्ट्रिय आगन्तुकहरूको सहभागितालाई सहज र रमणीय बनाउन सहयोग, सूचना, र मार्गनिर्देशन प्रदान गर्नेछ।

महाकुम्भ-२०२५ लाई चर्चित बनाउनका लागि पर्यटन मन्त्रालयले एक विशेष सामाजिक सञ्जाल अभियान सुरू गरेको छ। यसमा सहभागी जनतालाई आफ्नो अनुभव र महाकुम्भको आनन्दका पलहरू #महाकुम्भ२०२५ र #स्पिरिचुअलप्रयागराज जस्ता विशेष ह्यासट्यागहरूको प्रयोग गरी साझा गर्न प्रोत्साहित गरिँदैछ। सामाजिक सञ्जाल प्रतियोगिताहरू र भारत पर्यटन विभाग, उत्तर प्रदेश पर्यटन, र अन्य संस्थाहरूसँगको सहकार्यमा गरिएको पोस्टहरूले महाकुम्भको प्रचारप्रसार गर्नेछ।

पर्यटन मन्त्रालयले उत्तर प्रदेश राज्य पर्यटन विकास निगम (युपीएसटीडीसी), आईआरसीटीसी र आईटीडीसीसँग मिलेर विभिन्न क्युरेटेड टुर प्याकेज र लक्जरी आवास सुविधा प्रस्तुत गरेको छ। आईटीडीसीले प्रयागराजको टेन्ट सिटीमा ८० लक्जरी आवास निर्माण गरेको छ भने आईआरसीटीसीले तीर्थयात्री र पर्यटकहरूको लागि लक्जरी टेन्टहरू उपलब्ध गराउँदैछ। यी प्याकेजहरू एक डिजिटल ब्रोसरमा उपलब्ध छन्, जसलाई भारतीय कूटनीतिक मिशनहरू र भारत पर्यटन कार्यालयहरूमा व्यापक रूपमा प्रचार गरिएको छ। पर्यटन मन्त्रालयले एलायन्स एयरसँग सहकार्य गरेर भारतका विभिन्न शहरहरूबाट प्रयागराजसम्म हवाई सेवा विस्तार गरेको छ। यसले घरेलु र अन्तर्राष्ट्रिय श्रद्धालुहरूलाई महाकुम्भको यात्रा गर्न सहज बनाउनेछ। महाकुम्भको भव्यता र आध्यात्मिकतालाई क्यामेरामा कैद गर्न पर्यटन मन्त्रालयले ठूलो स्तरको फोटोसुट र भिडियो निर्माण परियोजना शुरु गर्दैछ। यी दृश्यहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय मिडिया प्लेटफर्महरूमा व्यापक रूपमा प्रचार गरिनेछ। यसले महाकुम्भको भव्यतालाई प्रस्तुत गर्नुका साथै प्रयागराजलाई आध्यात्मिक र सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा विशेष स्थान दिनेछ। -पीआईबी