सिलगढी: गत ७ जनवरीमा महेशमारी, मिलनमोड, चम्पासारी सिलगढीमा आयोजित यस सङ्गीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा कुम्भ लक्ष्मी पूजन महोत्सवमा आएर कर्णप्रिय भक्ति सङ्गीत तथा श्रीमद्भागवतका वचनहरू सुन्न सांसद राजु बिष्ट पुगेका थिए। यसबारेमा जानकारी दिँदै सांसद राजु बिष्टले एक प्रेस विज्ञप्ति जारी गरेर भने, ‘श्रीमद्भागवत गीता केवल एक धार्मिक ग्रन्थ मात्र होइन, जीवनका सबै पहलुमा मार्गदर्शन गर्ने अमूल्य रत्न हो। यसले जीवनका वास्तविक उद्देश्य, धर्म, कर्म र भक्ति बारे गहिरो ज्ञान दिन्छ। भगवान श्रीकृष्णको उपदेशले जीवनलाई सरल र शान्तिपूर्ण बनाउन मद्दत पुर्याउँछ। यस्ता धार्मिक अनुष्ठानहरूले हामी सबैको आध्यात्मिक जीवनको विकास गर्न, हाम्रो नैतिक/सामाजिक आचरणलाई शुद्ध पार्न अनि मानवमात्रको मुक्तिको मार्ग प्रशस्त गर्नमा सघाउ पुऱ्याउँदछ। धार्मिक अनुष्ठानहरू हाम्रो सांस्कृतिक धरोहरको संरक्षण गर्ने महत्त्वपूर्ण अवसर हुन, जब हामी धार्मिक कृत्यहरूमा भाग लिन्छौं, हामी आध्यात्मिक उन्नतिको बाटोमा मात्र अग्रसर हुँदैनौं, तर हाम्रो परम्परा र संस्कृतिको महत्त्वलाई पनि नयाँ पुस्तासम्म पुर्याउँछौं।‘ उनले अझ भने, ‘अनन्त श्री समलङ्कृत स्वामी श्री खगेन्द्रचार्यजी महाराज (मठाधीश) तथा कथा प्रवक्ता अन्तर्राष्ट्रिय कथावाचक श्री शेषनारायण पीठाधीश अनन्त श्री विभूषित डा स्वामी यतिराजाचार्यज्यूको सानिध्यमा यस अलौकिक वातावरणको अनुभव गर्ने अवसर प्राप्त भयो। उहाँहरूलाई मेरो प्रणाम।पुराण आयोजक समितिसँगै यसका सभापतिज्यू श्री रोहित शिवाकोटीज्यू, सचिव श्री दीपक न्यौपानेज्यू, समस्त सदस्यगण अनि भक्तिभावसँग उपस्थित सबैलाई हार्दिक अभिवादन एवं शुभकामना।‘