बागडोग्रा हवाईअड्डा नयाँ टर्मिनल विकास परियोजना स्थलमा पुगे सांसद राजु बिष्ट

IMG-20250111-WA0231

सिलगढी: आज सांसद राजु बिष्ट बागडोग्रा हवाईअड्डा नयाँ टर्मिनल विकास परियोजना स्थलमा चलिरहेको निर्माण कार्यको निरीक्षण गर्न पुगेl त्यहाँ उनले कार्यरत इन्जिनियरहरू, कर्मचारीहरू र अन्य सरोकारवालाहरूसँग अन्तर्क्रिया गरे। यसबारेमा उनले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘मैले देखेँ कि बितेका चार महिनादेखि काम तीव्र गतिमा चलिरहेको छ, र मलाई विश्वास छ कि यो परियोजना अढाई वर्षको निर्धारित समय अर्थात् मार्च २०२७ सम्म पूरा हुनेछ। वर्तमानमा, निर्माणको पहिलो चरण चलिरहेको छ जसअन्तर्गत ७०,३९० वर्ग मीटरको नयाँ टर्मिनल बन्नेछ जो भविष्यमा ५०,००० वर्ग मीटरसम्म विस्तारित हुनसक्नेछl यसले व्यस्त-घण्टाहरूमा एकसाथ ३,००० यात्रुहरूलाई  र वार्षिक रूपले २ करोड यात्रुहरूलाई सेवा प्रदान गर्न सक्नेछ। नयाँ टर्मिनलमा ए३२१ विमानको लागि १० वटा पार्किङ बे अनि बहुतलीय पार्किङ शामेल छन्, र यी सबैलाई ‘हरित भवन’को रूपमा डिजाइन गरिएको छ जसले नवीकरणीय ऊर्जाको प्रयोग गर्नेछन्। यसको लागि केन्द्रीय सरकारले रु० ३,००० करोड आवन्टित गरेको छ।’ बागडोग्रा हवाईअड्डाले दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, जलपाईगढी, कोचबिहार, उत्तर र दक्षिण दीनाजपुर र मालदाका साथै सिक्किम, लोवर असम, पूर्वी बिहार, अनि छिमेकी देशहरूका यात्रुहरू समेत ठूलो जनसंख्यालाई सेवा प्रदान गर्ने उनको भनाइ छ। ‘यो पश्चिम बङ्गालमा दोस्रो सबैभन्दा व्यस्त हवाई अड्डा हो जसको कारण हवाई सम्पर्कता बढाउनका लागि यसको विकास गरिनु नितान्त आवश्यक थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा केन्द्रीय सरकारले हाम्रो दार्जीलिङ पहाड, तराई, डुवर्स र उत्तर बङ्गाल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ। केन्द्रीय सरकारले हाम्रो क्षेत्रमा विभिन्न विकास परियोजनाहरूको लागि रु० ६०,००० करोड आवन्टित गरेको छ। मलाई यहाँ यो साझा गर्दा अति हर्ष लागिरहेको छ कि केन्द्रीय सरकारले दार्जिलिङ र कालेबुङ जिल्लाहरूमा प्रधानमन्त्री ग्रामीण सडक क योजना (पीएमजीएसवाई) को माध्यमले २६ नयाँ ग्रामीण सड़कहरू निर्माणको लागि करिब रु० २०० करोड आवन्टित गरेको छ। यसका साथै, सेवोक सैन्य छावनी देखि सेभोक बजारलाई जोड्ने ४ लेनको एलिभेटेड हाईवे कोरिडोर निर्माण निम्ति रु० १४०० करोड आवन्टित गरेको छ। यो अहिले निर्माणाधीन रहेको बालासनदेखि सेवोक सैन्य छावनी एलिभेटेड हाईवे कोरिडोर परियोजनाको अतिरिक्त हो’, उनले भने।

संसद राजु बिष्टले भने, ‘यसबाहेक, कोरोनेशन पुलको वैकल्पिक पुलसित सम्बन्धित सबै औपचारिकताहरू पूरा भएका छन्, र यसका लागि निविदाको घोषणा चाँड़ै नै गरिने सम्भावना छ। कालेबुङको लागि एउटा नयाँ वैकल्पिक हाईवे ७१७ए लगभग ९०% पूरा भइसकेको छ, र दार्जीलिङको लागि एउटा वैकल्पिक हाईवेको लागि पनि डीपीआर तयार भइरहेको छ। न्यू जलपाईगढी रेलवे स्टेशनको आधुनिकीकरण रु० ३५० करोडको लागतमा गरिँदैछ, र हर घर जल तथा एएमआरयुटी योजनाहरूको माध्यमले सिलगढीको लागि रु० ३५० करोडको पिउने पानी र ढल निकासी परियोजना, मिरिकको लागि रु० २०० करोडको पिउने पानी परियोजना, खरसाङको लागि ₹२५० करोडको जल परियोजना, र कालेबुङको लागि रु० १९४ करोडको पिउने पानी परियोजना लगायत  पिउने पानीका विभिन्न परियोजनाहरूलाई मन्जूरी प्रदान गरिएको छ।‘

‘बागडोग्रा हवाई अड्डाको आधुनिकीकरण कार्य पूरा भएपछि यो हाम्रो क्षेत्रमा एरोसिटी, र अन्य आधुनिक पर्यटन पूर्वाधारयुक्त पहिलो अन्तर्राष्ट्रीय हवाई अड्डा बन्नेछ, र यसले सिलगढ़ी, दार्जीलिङ पहाड, तराई अनि डुवर्सलाई यात्रा, पर्यटन, होटेल, होमस्टे, शिक्षा, स्वास्थ्यसेवा, वाणिज्य, कारोबार अनि व्यापारको विश्वस्तरीय लक्ष्यस्थलमा रूपान्तरित गर्नेछ’, उनले भने, ‘दार्जीलिङ पहाड, तराई, डुवर्स अनि उत्तर बङ्गाल क्षेत्रका जनताको तर्फबाट म प्रधानमन्त्री मोदीज्यू, र नागरिक उड्डयन मन्त्री के आर नायडुज्यूप्रति हाम्रो क्षेत्रको यो प्रमुख पूर्वाधार विकास परियोजनालाई तीव्रता प्रदान गर्न दिनुभएको सहयोग निम्ति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।‘

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *