झापा: झापामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा शुक्रबार राति भारतीय नागरिकको मृत्यु भएको छ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको डब्लूबी ७४ एजी १२२५ नम्बरको कारले शुक्रबार राति ९ः३० बजेतिर मेचीनगर नगरपालिका-१५ मा ठक्कर दिँदा भारतको पश्चिम बंगालका २५ वर्षीय अप्पु राय र २० वर्षीय केशव मादक घाइते भएका थिए। घाइतेलाई उपचारका लागि धुलाबारीको आम्दा अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनसाथ अप्पुलाई चिकित्सकले मृत घोषित गरेका हुन्। केशवलाई थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको छ।
प्रहरीका अनुसार मृतक र घाइते दुवै जना भगवती प्लाई फ्याक्ट्रीमा कार्यरत मजदुर हुन्। प्रहरीले कार र चालक भारतको पश्चिम बंगाल बागडुग्राका अन्दाजी २३ वर्षीय रोशन खत्रीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।