कोलकाता: भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयद्वारा प्रायोजित शीर्ष व्यापार निकाय, रत्न तथा गहना निर्यात प्रवर्द्धन परिषद (जीजेईपीसी) ले कोलकातामा आफ्नो पूर्वी क्षेत्रीय कार्यालयको रजत जयन्तीको अवसरमा भव्य समारोह आयोजना गर्यो। जीजेईपीसीका अध्यक्ष विपुल शाह, उपाध्यक्ष किरीट भंसाली, कार्यकारी निर्देशक सब्यसाची रे, पूर्वी क्षेत्रीय अध्यक्ष पंकज पारेख, र सेनको गोल्ड एण्ड डायमन्ड्सका एमडी तथा सीईओ सुवनकर सेनले यस समारोहमा सहभागीता जनाए। बङ्गाल पैडल जेटीमा आयोजित यस कार्यक्रममा जीजेईपीसीको एसईजेड समितिका सदस्यहरू, रत्न तथा गहना क्षेत्रका दिग्गज सदस्यहरू, तथा विशिष्ट अतिथिहरू उपस्थित थिए। कार्यक्रममा मुख्य अतिथिको रूपमा शिवाजी एच डांगे, आईआरएस, प्रिन्सिपल कमिश्नर अफ कस्टम्स, एयरपोर्ट र एसीसी कोलकाताले समारोहको शोभा बढाए।
रत्न तथा गहना उद्योगको प्रवर्द्धनमा जीजेईपीसीको नयाँ पहल
समारोहमा जीजेईपीसीका अध्यक्ष विपुल शाहले परिषदको निर्यात प्रवर्द्धनमा प्रतिबद्धताको चर्चा गर्दै भने, “भारतीय रत्न तथा गहना बजार, जसको वर्तमान मूल्य ८५ अर्ब अमेरिकी डलर छ, २०३० सम्म १३० अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ। यस लक्ष्यलाई ध्यानमा राख्दै, जीजेईपीसीले नयाँ उपायहरूसँग अगाडि बढ्ने योजना बनाएको छ।” शाहले प्राकृतिक हिरा प्रवर्द्धनका लागि डी बीयर्स ग्रुपसँगको सहकार्यको महत्त्वमाथि जोड दिँदै भने, “जीजेईपीसीले हालसम्म हिराको विश्वव्यापी प्रचारमा रु० १५० करोड लगानी गरिसकेको छ। डी बीयर्स ग्रुपसँगको नयाँ सहकार्यले यस प्रयासलाई थप मजबुत बनाउनेछ। यो सहकार्य अन्तर्गत, इण्डियन नेचुरल डायमन्ड रिटेलर अलायन्स–इन्द्र’ नामक पहलको घोषणा गरिएको छ। यसको मुख्य उद्देश्य स्थानीय बजारमा प्राकृतिक हिराको व्यापार प्रवर्द्धन गर्नु हो।‘‘ शाहले भने, “यो पहलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबाट खुद्रा व्यापारीहरूलाई कस्टमाइज्ड मार्केटिङ रणनीति बनाउन र ग्राहक अनुभव सुधार्न मद्दत गर्नेछ।”
बी२बी ट्रेड शो र निर्यात विस्तारका पहलहरू
जीजेईपीसीले हालै सम्पन्न गरेको बी२बी ट्रेड शो ‘आईआईजेएस सिग्नेचर २०२५’ ले रु० ३५,००० करोडको कारोबार गर्यो। यस शोमा १,५०० भन्दा बढी प्रदर्शक र २५,००० व्यापारीहरू सहभागी भए। शाहले साउदी अरेबियाको जेद्दामा आगामी सेप्टेम्बर ११-१३, २०२५ मा आयोजना हुने प्रदर्शनीको पनि घोषणा गरे। यस ऐतिहासिक प्रदर्शनीले भारत र जीसीसी क्षेत्रबीच द्विपक्षीय व्यापार विस्तारका लागि नयाँ सम्भावनाको ढोका खोल्ने उनले विश्वास व्यक्त गरे।
सिंगुरलाई वैश्विक गहना निर्यात केन्द्र बनाउन योजना
शाहले सिंगुर, पश्चिम बङ्गाललाई फेशन र कस्ट्युम ज्वेलरीका लागि विश्वव्यापी निर्यात केन्द्र बनाउन योजना सार्वजनिक गरे। उनले भने, “सिंगुरमा करिब १ लाख कुशल बंगाली कारीगर छन्। यस क्षेत्रलाई निर्यात हब बनाउँदा स्थानीय उद्योगलाई बढावा मिल्नेछ।” सिंगुरको ऐतिहासिक शिल्पकलालाई उपयोग गर्दै भारतको गहना निर्माण उद्योगलाई विश्वव्यापी स्तरमा मजबुत बनाउने उद्देश्य रहेको छ।
भविष्यका योजनाहरू
शाहले भने, “भारतका रत्न तथा गहना उद्योगमा डिजाइन र उत्पादन प्रविधिको प्रयोगले अग्रणी स्थान बनाएको छ। कुशल जनशक्ति र नवीन प्रविधिका सहायताले भारतले वैश्विक मञ्चमा उत्कृष्टता हासिल गर्न सक्नेछ।” यो पहलले प्राकृतिक हिराको महत्वलाई बलियो बनाउन र भारतीय गहना उद्योगलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।










