गोरामुमो सोनादा टुङ्ग समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250111-WA0159

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टुङ समष्टिको सांगठनिक सभा आज टुङस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। सभामा गोरामुमो खरसङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको प्रमुख उपस्थितिमा महत्वपूर्ण छलफल र निर्णयहरू गरिएको जानकारी प्राप्त भएको छ। सभामा समष्टि अध्यक्ष मदन छेत्री, ब्राञ्च कमिटी सचिव युद्ध छेत्री, प्रचार प्रसार सचिव भुपेन गुरुङ, एचपीडब्ल्यु खरसाङ ब्राञ्च कमिटी अध्यक्ष अदिप राई, केन्द्रीय समिति सदस्य अमृता छेत्री लगायत समष्टि प्रतिनिधिवर्ग र भ्रातृ संगठनका सदस्यहरूको सहभागिता रहेको जानकारी प्राप्त भएको छ। सभामा वक्ताहरूले आगामी दिनमा पार्टीले सञ्चालन गर्ने राजनीतिक कार्यक्रमहरूबारे चर्चा गर्दै उपस्थित प्रतिनिधिहरूलाई आवश्यक निर्देशन प्रदान गरिएको छ। यसको साथै दिल्लीमा हुने त्रिपक्षीय वार्ताको सन्दर्भमा गहन छलफल गरिएको थियो। त्रिपक्षीय वार्ताको महत्त्वलाई जोड दिँदै प्रचार प्रसार सचिव भुपेन गुरुङले सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘वार्ताले गोर्खा समुदायको राजनैतिक समाधानको दिशामा महत्त्वपूर्ण भूमिका खेल्नेछ। वार्ताले आपसी समझदारीलाई प्रोत्साहन गर्दै साझा आकांक्षाहरूलाई पूरा गर्ने आधार तयार गर्ने विश्वास लिएका छौं। यो वार्ताले हाम्रो समुदायको उज्जवल भविष्य निर्माण गर्ने सम्भावना बोकेको छ।”
उनले भारत सरकारले गोर्खा समुदायका समस्या समाधानका निम्ति गरेका प्रयासलाई गम्भीरतापूर्वक लिएकोमा सन्तोष व्यक्त गरे। भुपेन गुरुङले त्रिपक्षीय वार्ताबाट प्राप्त हुने परिणामले गोर्खा समुदायको अधिकार र भविष्यलाई नयाँ आयाम दिने विश्वास व्यक्त गरे।
संगठनको भावी योजना अन्तर्गत आगामी दिनाङ्क २९ जनवरी २०२५ मा मिरिकस्थित मञ्जुश्री पार्कमा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुन भुपेन गुरुङले सबैलाई अपिल गरेका छन्।
सांगठनिक सभाले गोरामुमोको आगामी कार्ययोजना र वार्तामा हुने सहभागिताको महत्त्वलाई स्पष्ट पारेको छ। सभा एकजुटता, समझदारी, र सामुदायिक उत्थानको दिशामा थप महत्वपूर्ण कदमका रूपमा रहेको सहभागीहरूले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *