गान्तोक: केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द रायले आज यहाँको टाशीलिङ सचिवालयमा सिक्किम सरकारका शीर्ष अधिकारीहरूसँग एउटा बैठक गरे। विभिन्न विभागका प्रमुखहरूसँगको यस बैठकमा केन्द्रीय मन्त्रीलाई सिक्किम सरकारका नवनियुक्त मुख्य सचिव आर तेलाङले स्वागत जनाएका थिए। यस बैठकको उद्देश्य राज्यमा केन्द्र सरकारका विभिन्न कार्यक्रम र योजनाहरूको कार्यान्वयनका अवस्था साथै त्यसमा झेल्न परिरहेका विभिन्न समस्या बारे अवगत गराउनु अनि केन्द्र सरकारबाट थप सहयोग र समन्वयका अवसरहरू खोजीनिकाल्नु रहेको थियो।
बैठक अवधि सोरेङ जिल्लाका सम्बन्धित अधिकारीहरूले जिल्लामा सम्भव मिशनको कार्यान्वयन बारे केन्द्रीय मन्त्रीलाई विस्तृत रुपमा जानकारी गराए। यसरी नै कृषि अनि बागवानी विभागका अधिकारीहरूले आ-आफ्नो विभागअन्तर्गत भइरहेका कामहरू बारे जानकारी गराए। यसको साथै शिक्षा विभागका अधिकारीहरूले पनि राज्यमा शिक्षाको क्षेत्रमा भइरहेका विभिन्न कार्यहरू बारे जानकारी गराए।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री रायले केन्द्र सरकारका सबै योजनाहरू राज्यमा प्रत्येक लाभार्थीसम्म पुग्नेगरी प्रभावकारी ढङ्गमा लागु गरिनुपर्ने कुरामा जोर दिए। बैठक अवधि उपस्थित अधिकारीहरूको सुझाउ र प्रतिक्रियालाई केन्द्रीय मन्त्रीले गम्भीरतासित सुनेर केन्द्र र राज्य सरकारबीच समन्वय अझ सहज र सदृढ़ बनाउने दिशामा पहल गर्ने आश्वासन दिए। यस अवसरमा केन्द्रीय मन्त्री र अधिकारीहरू बीच अन्तरक्रिया सत्र पनि आयोजना गरिएको थियो जसमा विभिन्न गम्भीर विषया गहन चर्चा गरियो।
बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्य सचिव आर तेलाङले केन्द्रीय मन्त्रीको भ्रमण प्रति आभार व्यक्त गरे।