खरसाङ: युनाइटेड दार्जिलिङ एफसी तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको च्याम्पियन बनेको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज दार्जिलिङ युनाइटेड एफसी र जर्जियन एफसी कालेबुङमाझ फाइनल खेल सम्पन्न भएको थियो। यस फाइनल खेल शुरु भएको ३ मिनटमा युनाइटेड दार्जिलिङ एफसीको जर्सी नम्बर ८ राज थापाले गोल बढत बनाएका थिए। यसको लगत्तै पहिलो हाफको खेलमा नै लगातार रुपमा युनाइटेड दार्जीलिङले ४ गोल गरेका थिए। युनाइटेड दार्जिलिङ एफसीको तर्फबाट छैंटौं मिनटमा कप्तान एंव जर्सी नम्बर १० गणेश लिम्बु, जर्सी नम्बर ९ प्रणय राईले नवौं र सोह्रौं मिनटमा दुई गोल गरेका थिए। पहिलो हाफको खेल ४-० मा समाप्त भएको थियो भने दोस्रो हाफको खेलमा जर्जियन एफसी कालेबुङले खेलको अन्तिम समयमा केवल एक गोल मात्र गरेका थिए। यसको साथै युनाइटेड दार्जिलिङ एफसीले फाइनल खेल ४-१ को अन्तरले सजिलै जित्दै तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको उपाधि जित्न सफल बनेको छ। यस फाइनल खेलमा मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिहरुमा खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापा, सभासद नवराज छेत्री, डा. ईआर लामा, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, घैयाबारी तीन ग्राम पञ्चायतको पञ्चायत प्रधान सुष्मा वाईबा, शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। यस फाइनल खेलमा विजय दललाई ट्रफीको साथमा नगदराशि दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिएको थियो। दुवै नगदराशि जीटीए चिफ् अनित थापाले सहयोग गरेका थिए। तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको विजेता ट्रफीको प्रायोजक राजीव थापाले गरेका थिए भने उप विजेता ट्रफीको प्रायोजक सुरेन राईले गरेका थि। तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेलमा म्यान अफ् द म्याच दुईवटा गोल गर्ने युनाईटेड दार्जिलिङ एफसीको जर्सी नम्बर 9 प्रणय राई चयन भएका छन् भने म्यान अफ् द टुर्नामेन्ट ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीका क्रिस छेत्री चयन भएका छन्। त्यसरी नै सर्वोच्च गोलदाताको अवार्ड युनाइटेड दार्जिलिङ एफसीको कप्तान गणेश लिम्बुले जितेका छन्। उनले टुर्नामेन्टभरि जम्मा ४ गोल गरेका थिए। यस टुर्नामेन्टमा बेस्ट गोल किपर ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीका गोल किपर जय दत्त चयन भएका छन्।त्यसरी नै फेयर प्ले अवार्ड पनि ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीले नै जितेको छ। युनाइटेड स्पोट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा गत १५ दिसम्बरदेखि शुरु भएको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा विभिन्न नामी नामी फुटबल क्लबहरुले सहभागिता जनाएका थिए। यस फाइनल खेलमा तीनधारेको मिठाईडाँडा खेल मैदानमा दर्शकहरुको निक्कै बेसी भीड देखिएको थियो। तर फाइनल खेलमा पहिलो हाफको खेलमा नै लगातार चार गोल भएपछि दर्शकहरु निराश देखिएका थिए। यस फाइनल खेलमा आयोजक समितिको तर्फबाट जीटीएको प्रमुख कार्यपाल अनित थापालाई सम्मान पनि गरिएको थियो। त्यसरी नै तीनधारे क्षेत्रमा फुटबलमा उल्लेख्य योगदान दिने पूर्व फुटबल खेलाडी तथा शिक्षक विकास प्रधानलाई सम्मान जनाइएको थियो भने अन्यलाई पनि सम्मान जनाइएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम र ब्याण्ड डिसप्ले पनि गरिएको थियो। तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेल अघि मधुर मिलन संघ मिलनमोड र दार्जीलिङ पुलिसमाझ गर्ल्स फुटबल म्याच पनि खेलाइएको थियो जसमा मिलनमोड ३-१ को अन्तरले विजयी बनेका थिए।फाईनल खेलमा सम्पन्न कार्यक्रमलाई युवराज सुन्दासले सञ्चालन गरेका थिए। यस फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापा र क्षेत्रीय सभासद नवराज छेत्रीले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो संस्करण पनि आयोजना गरिने भएको जानकारी गराएका छन्। यसको साथै दुवैले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको आयोजनामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। दुवैले जीटीए चिफ् अनित थापा लगायत ट्रफीहरुको प्रायोजकहरुप्रति साथै विभिन्न माध्यममार्फत सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।