गान्तोक: वायु सेना स्टेशन बागडोग्राद्वारा पूर्वी वायु कमाण्डको वायु सेना परिवार कल्याण संघ (क्षेत्रीय) को तत्त्वावधानमा एक रोमाञ्चक शीतकालीन साहसिक शिविर आयोजना गरिएको थियो। शिविर ५ जनवरी, २०२५ मा एक रङ्गारङ्ग उद्घाटन समारोहको साथ शुरु भयो। पूर्वी वायु कमाण्डका विभिन्न विद्यालयका ६० उत्साही बालक-बालिका शिविरमा सहभागी भए।

वायुसेना स्टेशन बागडोग्राका एयर अफिसर कमाण्डिङ तथा एएफएफडब्ल्युए (स्थानीय) का अध्यक्ष एयर कमोडोर मनीष शर्माले उद्घाटन समारोहको अवसरमा आकाश, सतलुज, चिता र तेजस नामक चार टोलीहरू बीचको टग अफ् वार खेललाई झण्डा देखाए। बालक-बालिकाहरूले व्यावसायिक प्रशिक्षकहरूको मार्गदर्शनमा गरिएका सबै साहसिक गतिविधिमा ठूलो उत्साहका साथ भाग लिए।

शिविरको उद्देश्य साहसिक भावनालाई प्रवर्द्धन गर्नु, टोली निर्माणलाई बढ़ावा दिनु र युवाहरूलाई सशस्त्र सेनामा सामेल हुन प्रेरित गर्नु रहेको थियो। बालक-बालिकाहरूले प्यारासेलिङ, प्यारा ह्याङ ग्लाइडिङ, ऱ्यापेलिङ, जोर्बिङ, आर्चेरी, जिप लाइनिङ, रोप साइक्लिङ, नाइट रुट मार्च आदि जस्ता विभिन्न साहसिक गतिविधिहरूमा भाग लिए।

कार्यक्रमको समापन ९ जनवरी, २०२५ मा क्याम्प फायर तथा सांस्कृतिक साँझको साथ भयो। एयर अफिसर कमाण्डिङ-इन-चीफ, पूर्वी वायु कमाण्डका एयर मार्शल सुरत सिंह मुख्य अतिथि रहेको कार्यक्रममा एएफएफडब्ल्युए (क्षेत्रीय) की अध्यक्ष श्रीमती निशा सिंह उपस्थित भएर कार्यक्रममा सहभागिता जनाउने बालक-बालिकाहरूलाई स्मृतिचिन्ह र प्रमाण पत्र प्रदान गरियो। -पीआईबी