कोलकाता: पश्चिम बङ्गालका धेरै क्षेत्रमा भारी वर्षा र बाढीको खतरा छ। मौसम विभागले यहाँका धेरै क्षेत्रमा अलर्ट जारी गरेको छ। राज्यका धेरै ठाउँमा पहिरो जानसक्ने र बाढीको अवस्था पनि आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम विभागका स्रोतका अनुसार बङ्गालको खाडीमा सक्रिय मनसुनका कारण दार्जीलिङ, अलिपुरद्वार र कुचबिहार जिल्लामा भीषण वर्षा हुने सम्भावना छ। जसका कारण जनताको दैनिकी पनि प्रभावित हुनेछ। मनसुनका कारण जलपाईगुडी र कालिम्पोङमा भारी वर्षा हुनेछ र यो अवस्था तीनदेखि पाँच दिनसम्म रहनेछ।
दार्जिलिङ र कालिम्पोङका पहाडी क्षेत्रमा पहिरो आउन सक्छ भने मैदानी क्षेत्र डुबानमा पर्नसक्छ। यस्तो अवस्थामा सहरको अवस्थालाई सम्हाल्न प्रशासनले पनि धेरै चुनौती सामना गर्नुपर्ने हुनसक्छ। मौसम विभागले सेप्टेम्बर महिनामा धेरै राज्यहरूमा सामान्य वा बढी वर्षा हुने जनाएको छ। मनसुनले आउँदो पाँच दिनसम्म आसामसहित धेरै उत्तरपूर्वी राज्यहरूलाई भिजाउनेछ।