नाम्ची: माघे मेलाको अवसर पारेर आयोजित १०औं अखिल भारत मुख्यमन्त्री स्वर्णकप फूटबल टुर्नामेन्ट आजदेखि जोरथाङको खेल मैदानमा आरम्भ भयो। उद्घाटन म्याच सिङ्गलिङ स्पोर्टिङ क्लब र असुफी एफसी, मणिपुर माझ सम्पन्न भयो। निर्धारित समयसम्म दुवै दलले गोल गर्न नसक्दा म्याच बराबरीमा समाप्त भयो भने टाइब्रेकरमा सिङ्गलिङ स्पोर्टिङ क्लब ४ को विरुद्ध ५ गोलले विजयी बन्यो। भोलिको म्याच यूनाइटेड कोलकता एससी र सिक्किम पुलिस एफटी माझ हुनेछ। उल्लेखनीय छ, यसपल्टको मुख्यमन्त्री स्वर्णकप फुटबल टुर्नामेन्टमा राज्य अनि राज्य बाहिरका जम्मा १२ वटा क्लबले सहभागिता जनाएको छ भने म्याचको फाइन खेला जोरथाङ माघे मेलाको अन्तिम दिन २१ जनवरीको दिन हुनेछ।
यसरी नै आजदेखि नै अन्तरसमष्टि फूटबल टुर्नामेन्टको क्वाटर फाइनल म्याच पनि जोरथाङ खेल मैदानमा नै आरम्भ भयो। पहिलो क्वाटर फाइनल म्याच योक्सम टाशीडिङ र पोकलक कामराङ समष्टि बीच सम्पन्न भयो जसमा पोकलक कामराङ समष्टि शुन्यको विरुद्ध तीन गोलले विजयी बन्यो। यसको साथै पोकलक कामराङ टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने पहिलो टीम बन्यो। दुई गोल गर्ने पोकलक कामराङका प्रताप तामाङलाई म्यान अफ् दी म्याच घोषित गरियो। उल्लेखनीय छ, अगावै जिल्लास्तरमा सम्पन्न भइसकेको अन्तरसमष्टि टुर्नामेन्टका विजेता समष्टिले यस राज्यस्तरीय टुर्नामेन्टमा आ-आफ्नो जिल्लालाई प्रतिनिधित्व गर्नेछ।

आज कार्यक्रममा सिक्किम सरकारका खेलकुद एवं युवा मामिला मन्त्री राजु बस्नेत मुख्य अतिथि रहेका थिए। यसरी नै जूम सालघारी समष्टिका विधायक मदन सेञ्चुरीको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।