इस्लामाबाद: अफगानिस्तानले पाकिस्तानका पूर्व कप्तान यूनिस खानलाई आउँदो महिना हुने च्याम्पियन्स ट्रफीको निम्ति आफ्नो पुरुष क्रिकेट टीमको मेण्टोर (मार्गदर्शक) नियुक्त गऱ्यो। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)-द्वारा जारी बयानमा भनिएको छ, ४७ वर्षीय यूनिस १९ फरवरीदेखि कराचीमा शुरु हुने च्याम्पियन्स ट्रफी अघि अफगानिस्तान टीममा सामेल हुनेछन् अनि टुर्नामेण्टको अवधि टीमसँग रहनेछन्। पाकिस्तानको निम्ति ११८ वटा टेस्ट, २६५ वटा वनडे र २५ वटा टी२०आई म्याच खेल्ने यूनिसले २०१७-मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। उनले २०२१-मा केही समयको निम्ति राष्ट्रिय क्रिकेट टीमसँग काम गरेका थिए तर पाकिस्तान क्रिकेट बोर्डसँग मतभेदले गर्दा उनलाई पदबाट हटाइएको थियो। च्याम्पियन्स ट्रफीमा अफगानिस्तान ग्रुप बी-मा ईंग्ल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकासँग रहेको छ। अफगानिस्तानले आफ्नो पहिलो म्याच कराचीमा २१ फरवरीको दिन दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ। उल्लेखनीय छ, यूनिसले दोस्रोपल्ट अफगानिस्तान टीमसँग काम गर्नेछन्। यसअघि २०२२-मा अबुधाबीमा एुटा अभ्यास शिविरमा पनि उनले यस टीमसँग काम गरेका थिए। एसीबी-का मुख्य कार्यकारी नसीब खानले भने, च्याम्पियन्स ट्रफीको आयोजन पाकिस्तानमा हुने हुनाले आयोजक देशका एकजना दिग्गज खेलाड़ीलाई मेण्टोरको रूपमा नियुक्त गर्नु आवश्यक थियो।