मिरिक: मिरिक थर्बु डुप्टिन समष्टिका एमओडी सभासद मिलेश राई, सियोक गोपालधारा ओकाईटी समष्टिका एमओडी सभासद धुर्व बोम्जन अनि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले आज यहाँको खण्ड प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण गरि वस्तुस्थितिको जायजा लिए। उनीहरूले यसक्रममा उनीहरूले कर्मचारीहरूसँग पनि भेटघाट गरे। यता भ्रमणपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा सभासद मिलेश राईले आज आफूहरूले मिरिक प्राथमिक खण्ड स्वास्थ्य केन्द्रको भ्रमण गरेर यहाँको समस्याहरू बुझ्ने कोशिश गरेको बताए। उनले मिरिक बीपीएचसी महकुमावासीको निम्ति एउटा प्रमुख अस्पताल रहेको बताए। अस्पतालमा आज भ्रमण अवधि यहाँको वीएमओएच छुट्टीमा रहेको कारण उनीसँग भेट हुन नसके तापनि अन्य पदाधिकारीहरूसँग भेट गरि समस्याहरू बुझेको उनले बताए। यसका साथै उनले विगतमा अस्पतालमा जीटीएका कार्यकारी सभासद अरूण सिगचीले पनि भ्रमण गरिसकेको बताउदै यहाँको समस्याको समाधान गर्नका लागि चाँडो कुरा राखिने बताएका छन्। उनले अस्पतालमा धेरै समस्याहरू रहेको र यसलाई यथाशिघ्र समधान गर्नका लागि आफूहरू लागिपर्ने बताए। अस्पतालको भ्रमणपछि उनीहरूले निर्माणधिन एकोरियमको पनि भ्रमण गरे भने उक्त एकोरियमको कतिपय कार्य थाँतीमा रहेको र उक्त कार्य पनि चाँडै पूरा गरिने पर्ने सभासद राईले बताए।