गान्तोक: गेजिङ जिल्लाको गेजिङ पाण्डे कलोनीमा हिजो दोस्रो चेरी फाउण्डेसन पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो।चेरी फाउन्डेसन सिक्किमको आयोजनामा सम्पन्न यस कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय सेवा पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान जनाइयो, जसमा अन्तराष्ट्रीय मानव अधिकारी परिषद, कञ्चनजङ्गा मोटर साइकल क्लबका सदस्यहरूलाई सम्मान जनाइयो। सम्मानित हुनेहरूमा दिपेन्द्र अधिकारी, नमु श्रेष्ठ, क्रिश साह प्रतिमा राई,नामसाङ सुब्बा, सुशिल सुब्बा र लोकल ट्याक्सी चालक चालक संघ सामेल रहेको थियो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा मन्त्री भीम हाङ सुब्बा रहेका थिए भने मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ, चेरी फाउन्डेसनका संस्थापक सुशिल तामाङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङले चेरी फाउन्डेसनले यस्तो महत्वपूर्ण कार्यको शुरूवात गरेकोमा धन्यवाद दिँदै यस संस्थाबाट अन्यहरूले पनि धेरै कुराहरू सिक्ने आवश्यक रहेको मन्तव्य प्रकट गरे। यस संस्थाले आज विभिन्न क्षेत्रमा उल्लेखनीय सेवा पुऱ्याउने आठजनालाई सम्मान जनाएकोमा खुशी प्रकट गर्दै यसलाई निरन्तरता दिनु पर्ने सुझाउ दिए। सोही प्रकारले संस्थापक सुशिल तामाङले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याए वापत उनीहरूलाई सम्मान जनाइएको जानकारी गराए। यसरी सम्मान जनाउनले उनीहरूलाई भविष्यमा अझ काम गर्ने प्रेरणा प्राप्त हुने उनले मनसाय प्रकट गरे।