गान्तोक: माघे मेलालाई ध्यानमा राख्दै सोरेङ जिल्लामा आयोजना गरिएको पुरूषवर्गको अन्तर समष्ठी फुटबल प्रतियोगिताको आज समापन भयो। सोरेङ जिल्लाको जैटार खेल मैदानमा आयोजित यस प्रतियोगिताको आयोजना सोरेङ जिल्लाको खेलकूद एवम युवा मामिला विभाग र माघे संक्रान्ति आयोजक समितिको संयुक्त पहलमा आयोजना गरिएको थियो। गत ७ जनवरीदेखि शुरू भएको यस प्रतियोगिताको समापन आज सम्पन्न भयो, जसमा आजको फाइनल खेल दरामदिन बनान सोरेङ च्याखुङ निर्वाचनबीच सम्पन्न भएको थियो। यस प्रतियोगितामा दरामदिनले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रलाई शून्यकोविरूद्ध तीन गोलले पराजित गर्दै दोस्रो चरणको खेलमा प्रवेश गरेको छ। उक्त खेल भोलि अर्थात ९ जनवरीदेखि जोरथाङको खेल मैदानमा शुरू हुने भएको छ। आजको यस प्रतियोगितामा मुख्य अतिथिकोरूपमा सीएलसी अध्यक्ष लगायत विभागका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।