गान्तोक: सिक्किमे नागरिक समाजले गोर्खा राष्ट्रिय कांग्रेसको बयानमाथि प्रतिक्रिया दिँदै यसलाई अव्यवहारिक र आधारहीन ठहर गरेको छ। सिक्किम नागरिक समाजका महासचिव साम्सो सुब्बाले आज एक प्रेस बयान जारी गर्दै तथाकथित सिक्किम-दार्जीलिङ विलयबारेमा गोराकांद्वारा गरिएको बयान गैरजिम्मेवार रहेको भन्दै निन्दा गरेको छ। यस्ता गैरजिम्मेवार टिप्पणीहरूले ऐतिहासिक तथ्यहरूलाई विकृत मात्र नगरेर भारतीय संविधानको धारा ३७१ अन्तर्गत सिक्किम राज्यको संवैधानिक पवित्रता र क्षेत्रीय अखण्डतालाई प्रत्यक्ष खतरा हुने बताएको छ। महासचिव सुब्बाले सिक्किमको विशिष्ट पहिचान, संस्कृति र राजनीतिक अधिकार धारा ३७१ एफमा निहित विशेष प्रावधानहरू अन्तर्गत सुरक्षित रहेको उल्लेख गर्दै यसलाई १९७५ मा भारतमा विलय भएपछि सिक्किमको अद्वितीय ऐतिहासिक, सांस्कृतिक र सामाजिक संरचनालाई जोगाउन स्थापित गरिएको बताएका छन्। यस संवैधानिक सुरक्षालाई कमजोर पार्ने कुनै पनि प्रयास सिक्किमे विरोधी मात्र होइन तर हाम्रो राष्ट्रको लोकतान्त्रिक मूल्यमान्यताको अपमान हो भनी नागरिक समाजले दाबी गरेको छ। सिक्किमे नागरिक समाजसे गोर्खा राष्ट्रिय कांग्रेसको बयान विभाजनकारी, भड्काउने र सिक्किमको ऐतिहासिक र कानुनी विपरित रहेको स्मरण गराएको छ। यस्ता मनगड़न्ते कुराहरुले यस क्षेत्रको शान्ति र सद्भावलाई बिगार्ने बताएको छ। राज्यलाई अस्थिर बनाउन खोज्ने कुनै पनि शक्तिको विरुद्ध एकताबद्ध हुन सिक्किम नागरिक समाजले राज्यवासीमा आग्रह गरेको छ। संस्थाले सरकारलाई पनि यस बयानलाई गम्भीरतापूर्वक लिएर त्यस्ता कुनै पनि विभाजनकारी एजेन्डाहरूलाई जरा गाड्न नदिने आग्राह गरेको छ। सिक्किम विविधतामा एकताको प्रकाशस्तम्भ हो भन्दै यसको विशिष्ट पहिचानलाई कलंकित गर्ने कुनै पनि प्रयासलाई कडा विरोध गर्ने चेताउनी पनि दिएको छ।