सिलगढी: केन्द्र सरकारले सेभोक छाउनीलाई सेभोक बजारसँग जोड़्ने १४ किलोमीटर लामो एलिभेटेड कोरिडोरको निर्माणको लागि रु० १४०० करोडको मञ्जूरी दिएको छ सांसद राजु बिष्टले एक प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्। यो परियोजना आगामी तीन वर्षमा पूरा गरिने, र यसले यस क्षेत्रको विकासमा एउटा अर्को कोसेढुङ्गा स्थापित गर्ने उनको भनाइ छ। सांसद राजु बिष्टले भने, ‘यस कोरिडोरले हाम्रो क्षेत्रका जनताको लामो समय देखी को माग र हाम्रो क्षेत्रलाई विश्वस्तरीय पूर्वाधार प्रदान गर्नुका साथै सम्पर्कतामा सुधार अनि यातायातको भीडभाडलाई सहज बनाउने मेरो परिकल्पनालाई साकार पार्नेछ। एलिभेटेड कोरिडोरले यात्राको समयमा कटौति गर्नेछ, अनि झण्झटमुक्त यात्रा प्रदान गरेर यहाँका निवासीहरूसँगै पर्यटकहरूलाई पनि लाभ पुऱ्याउने छ। मई महिना २०२३ मा मैले केन्द्रीय सडक, परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीज्यूलाई सिमाना क्षेत्रहरू दार्जीलिङ, कालेबुङ, डुवर्स अनि सिक्किमको जीवन-रेखा एनएच १० को समुन्नतिकरणसित सम्बन्धित परियोजनाहरूलाई तीव्रता प्रदान गर्न अनुरोध गरेको थिएँ। मैले उहाँलाई एनएच १० को प्रयोग गर्दै यात्रा गर्ने मानिसहरूले भोग्नु पर्ने समस्याहरू, अनि राष्ट्रिय सुरक्षाको दृष्टिले यसको महत्त्व बारे जानकारी दिएको थिएँ। म कृतज्ञ छु कि एक वर्षभित्रमा नै यस परियोजनालाई मञ्जूरी प्रदान गरिएको छ। यस कोरिडोरको निर्माण सुचारू यातायात सुनिश्चित गर्ने दिशामा एक महत्त्वपूर्ण पाइलो हुनेछ जसले आर्थिक विकासलाई बढावा दिनुका साथै क्षेत्रमा पर्यटनलाई प्रोत्साहित गर्नेछ।‘
‘अहिले सेभोकको रेलवे क्रसिङ्ग (डुवर्स रेल मार्ग) का कारण ट्राफिक जामको सामना गर्न परिरहेका यात्रुहरूलाई यस कोरिडोरको निर्माणपछि सिलगढीबाट कालेबुङ, दार्जीलिङ, डुवर्स वा सिक्किम आउन-जानमा सजिलो हुनेछ र उनीहरूले बाधारहित यात्राको आनन्द लिन सक्नेछन्’, उनले विज्ञप्तिमा भनेका छन्। उनले भने, ‘यो परियोजना सम्पन्न भएपछि आफ्नो भौगोलिक सुन्दरताको लागि सुविख्यात सेभोक यात्रुहरूका लागि झन सहजै पहुँचयोग्य बन्नेछ र स्थानीय कारोबारसँगै क्षेत्रमा पर्यटनका नयाँ अवसरहरूको सिर्जना हुनेछ। यसबाहेक, म कोरोनेशन पुलको वैकल्पिक पुल, सिलगढी रिङ रोड परियोजना, र सिलगढ़ीबाट बालासन, र घूम हुँदै दार्जीलिङलाई जोड़्ने वैकल्पिक राजमार्ग पूरा गर्न, अनि दार्जीलिङ शहरलाई दबाई पानी हुँदै टिस्टालाई जोड़्ने नयाँ राजमार्गको निर्माणको लागि सक्रिय रूपले प्रयासरत छु। म बिजनबारीलाई यस नयाँ वैकल्पिक राजमार्गसँग जोड़्ने काममा पनि लागिपरेको छु जसबाट बिजनबारी, र रिम्बिक-लोधोमा क्षेत्रबाट सिलगढी बीच यात्राको समयमा कमी ल्याउनमा ठूलो मद्दत पाइने छ। म जनतालाई आश्वस्त गर्न चाहन्छु कि यस सम्बन्धमा उल्लेख्यनीय प्रगति भएको छ, र यसबारे छिट्टै नै सकारात्मक खबर सुन्न पाइने छ।‘