सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा विधान नगर एमएसए, कलकत्ताले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत बुधवार सुकना हाई स्कूल मैदानमा खेलिएको म्याचमा विधाननगर एमएसए ले युनाइटेड खरसाङ फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका सुमित मजुमदार ले प्लेयर अव् द म्याच को पुरस्कार जिते। बिहीवार खेलिने म्याचमा जेभीसी सिङताम र जलपाईगढी पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ।

१८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।