नेपाल चिन कोरला नाकामा भन्सार कार्यालय नहुँदा राजस्व गुमाउँदै

IMG-20250108-WA0162

मुस्ताङ: उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका-१ स्थित नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा भन्सार कार्यालय स्थापना नहुँदा राज्यले दैनिक लाखौं राजस्व गुमाउँदै आएको छ। एक वर्षदेखि औपचारिक रूपमा खुला गरिएको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय र राजस्व संकलन प्रणाली स्थापना नभएकाले चीनबाट व्यापारीले दैनिक कोरला नाका हुँदै भन्सार प्रज्ञापनपत्र, बिलबिजकबिनाका करोडौंका सामान नेपाल ल्याउने गरेका छन्।
हालै जिल्ला प्रहरी मुस्ताङको टोलीले जोमसोममा एउटा मालवाहक ट्रकबाट ल्याउँदै गरेको भन्सार प्रज्ञापनपत्र बिलबिजकबिनाका ६ करोडभन्दा बढी मूल्यका अवैध सामान बरामद भएसँगै कोरला नाकाबाट निर्बाध रूपमा अवैध ओसारपसार भइरहेको खुलेको हो।
‘कोरला नाकामा नेपाली भन्सार कार्यालय र कर्मचारी छैनन्। भन्सार कार्यालयको सिस्टम कोरला नाका नपुर्‍याएसम्म अवैध सामान आउने क्रम रोकिने सम्भावना कम छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले भने , ‘कोरला नाकाको भन्सार समस्याबारे मैले गृह, अर्थ मन्त्रालयदेखि राजस्व विभागसहितका सरोकारवाला निकायमा बारम्बार जानकारी गराएको छु।’
व्यापारीले राजस्व तिर्छु भन्दा पनि बुझ्ने निकाय नै नहुँदा समस्या भएको भुसालले बताउनु भयो। ‘नाका खोलेपछि सामग्री त आउँछन्, हामी छिटो अपडेट हुन आवश्यक छ,’ उहाँले भन्नु भयो। कोरला नाकामै रहनुपर्ने भन्सार कार्यालय १९ किमि वर नेचुङस्थित सशस्त्र प्रहरीको बीओपीभित्र भन्सार कार्यालयको बोर्ड राखिएको भए पनि कर्मचारी भने सदरमुकाम जोमसोममै बस्छन्। नेचुङको भन्सार कार्यालय एक स्थानीय कुरुवाको भरमा छोडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गृहमन्त्री रमेश लेखकले गत कात्तिक १४ (अक्टूबर ३०)मा कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन गरेका थिए। अध्यागमन कार्यालयले कोरला नाकाबाट वारपार हुने व्यक्तिको नियमन मात्र गर्ने भएकाले आयात-निर्यात हुने वस्तुको क्वारेन्टिन, बिलबिजकसम्बन्धी निकाय भन्सार कार्यालय नहुँदा राजस्व गुम्दै आएको हो।
मुस्ताङ प्रहरीले गत शुक्रबार लु १ ख ६९९९ नम्बरको ट्रकमा ल्याएको ठूलो परिणामको विद्युतीय चुरोट (भेप) सहित ६ करोड ८० लाखभन्दा बढी मूल्यका अवैध सामग्री जोमसोमबाट जफत गरेपछि तस्करहरूले कोरला नाकामा नेपाली भन्सार कर्मचारीको शून्य उपस्थितिको लाभ उठाइरहेको खुलेको हो।
अहिले लोमन्थाङस्थित भन्सार कार्यालय बन्द छ। कोरला नाकाबाट निर्बाध सामान ओसारपसार भइरहेको छ। कोरला नाकाबाट जोमसोम हुँदै बेनी-पोखरातर्फ लैजान लागिएको भन्सार प्रज्ञापनपत्र तथा बिलबिजकबिनाका १९ हजार थान विद्युतीय चुरोट, लत्ताकपडा, पेयपदार्थ र किराना सामग्रीसमेत गरी १८ प्रकारका वस्तु बरामद गरिएको मुस्ताङका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर सागर पौडेलले जनाए।
मुस्ताङ प्रहरीले अवैध सामान ढुवानी गराउन प्रयोग गरिएको ट्रकसहित तनहुँको म्यादे गाउँपालिका-५ का ३६ वर्षीय चालक विष्णु थापा, लोमन्थाङ-३ फुवाका टसी आङया गुरुङ र लोमन्थाङका ट्रकधनी ध्याचो गुरुङलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभाग, काठमाडण्डू पठाएको छ।
बरामद गरिएका अवैध वस्तुमा लेमन लाइन आइस भेप १ हजार ९ सय थान (९५ ठूलो कार्टुन), चिनियाँ ब्रान्डी, टिस्यु, चाइनिज बख्खु टोपीसहितका कपडा, जुत्ता, मिठाई, कफी, बिस्कुट, बिफ, ह्विस्की, घिउलगायत सामान छन्।
गृहमन्त्री लेखकले गत कात्तिक १४ मा बिहान हेलिकोप्टरमा कोरला नाका पुगेर नवनिर्मित अध्यागमन कार्यालय उद्घाटन गरेका थिए। अहिले कोरलास्थित अध्यागमन कार्यालयमा एक कम्प्युटर अपरेटर र कार्यालय सहयोगी मात्र रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।
समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरोला नाकाको औपचारिक उद्घाटन २०८० कात्तिक २७(२०२१नवंबर १२)मा चीनको सिगात्से प्रान्तको झोम्बा काउन्ट्रीका मेजेस्ट्री नुर्बु छिरिङ र मुस्ताङका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गरेका थिए। स्थानीयले यहाँबाट तिब्बत पुगेर दैनिक उपभोग्य वस्तु र केहीले व्यापारका लागि पनि सामान ल्याउने गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement