जलपाईगढी: जलपाईगढी केन्द्रीय मौसम विभागका सहायक वैज्ञानिक प्रीतम चक्रवर्ती ४०० दिनको अनुसन्धानपछि अंटार्कटिकाको दक्षिणी ध्रुवबाट फर्किएका छन्। उनलाई ४३औं भारतीय वैज्ञानिक अभियानको लागि अनुसन्धान गर्न छनोट गरिएको थियो। प्रीतमले आफ्नो अनुभव साझा गर्दै बताएअनुसार विभिन्न देशहरूले अंटार्कटिकामा स्थायी अनुसन्धान केन्द्र स्थापना गरेका छन्। तीमध्ये केही केन्द्रमा वैज्ञानिकहरू वर्षभरि बस्छन् भने केही केन्द्रमा गर्मी महिनामा मात्र अनुसन्धान गरिन्छ। भारतले पूर्वी अंटार्कटिकामा “भारती” नामक वैज्ञानिक स्टेशन स्थापना गरेको छ। यसका अतिरिक्त, “मैत्री” नामको अर्को केन्द्र पनि छ, जहाँ मौसम विज्ञानलगायत विभिन्न विषयमा अनुसन्धान गरिन्छ।

प्रीतमले भने, “हर वर्ष वैज्ञानिकहरूलाई अनुसन्धानका लागि यी केन्द्रहरूमा पठाइन्छ। पश्चिम बंगालबाट म एक्लो व्यक्ति थिएँ, जसलाई अनुसन्धानका लागि पठाइएको थियो।” उनले दक्षिणी ध्रुवमा ४३औं भारतीय वैज्ञानिक अभियानमा भाग लिन पाएकोमा गर्व व्यक्त गरे।
कठिनाइहरू र प्रशिक्षण
प्रीतमले बताएअनुसार, नोभेम्बर २०२३ मा प्रस्थान गर्नु अघि धेरै शारीरिक परीक्षण गरियो। त्यसपछि गोवामा ७-१० दिनको प्रशिक्षण दिइयो, जहाँ दक्षिणी ध्रुवको कठोर मौसमसँग जुध्न सिकाइयो। गोवाबाट दक्षिण अफ्रिकाको केपटाउन हुँदै उनी अंटार्कटिका पुगे। उनले अनुभव सुनाउँदै भने, “विमानबाट ओर्लिनासाथ अत्यन्त चिसो महसुस भयो। त्यतिबेला तापक्रम -२० डिग्री सेल्सियस थियो। त्यहाँ २२-२३ घण्टाको दिन हुन्छ, र हिमको झल्कोका कारण सँधै सनग्लास लगाउनुपर्थ्यो।”

अनुसन्धानको दैनिकी
उनी पिस्टनबुली गाडीबाट भारती स्टेशन पुगे र बिहानदेखि आफ्नो काममा जुटे। जलपाईगढीको फणिन्द्रदेव विद्यालय र आनन्द चन्द्र कलेजमा अध्ययन गरेर वैज्ञानिक बनेका प्रीतमले अंटार्कटिकामा चार घण्टा अनुसन्धानमा व्यस्त रहने बताए।

उनले भने, “भारतको केन्द्रको छेउमा रूस र चीनका केन्द्रहरू छन्। यी ४०० दिनको दौरान ती देशका वैज्ञानिकहरूसँग राम्रो सम्बन्ध बन्यो। हामीले भलिबल, फुटबल, र इन्डोर गेम खेल्यौं, जुन सम्झना जीवनभरि रहनेछ।”

फेरि जान चाहन्छन् दक्षिणी ध्रुव
प्रीतमले भविष्यमा पुनः अंटार्कटिकाको यात्रा गर्ने चाहना व्यक्त गरे। उनले यो अद्भुत अनुभवको लागि भारत सरकार र आफ्नो टिमप्रति आभार व्यक्त गरे।