नयाँ दिल्ली: राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले दाउद इब्राहिम र डी कम्पनीसँग सम्बन्धित व्यक्तिहरूको बारेमा जानकारी दिनेलाई पुरस्कारको घोषणा गरेको छ। एनआईएले बिहीबार पुरस्कार राशिको सूची जारी गरेको हो। यसमा दाउदमाथि २५ लाखको इनाम राखिएको छ। यसबाहेक छोटा शकीलको जानकारी दिनेलाई २० लाख पुरस्कारको घोषणा गरिएको छ। सूचीमा दाउद, छोटा शकील, अनीस इब्राहिम, जावेद चिकना र टाइगर मेमनको नाम छ। एनआईएले सार्वजनिक रूपमा यति ठूलो पुरस्कार घोषणा गरेको यो पहिलो पटक हो। विशेष कुरा के छ भने पहिलो पटक यी व्यक्तिहरुको पुरानो र नयाँ तस्विर एकसाथ सार्वजनिक भएको छ। यद्यपि दाउदको कुनै नयाँ फोटो छैन। उसको त्यही तस्वीर सार्वजनिक भएको छ, जुन सन् १९९३ को मुम्बई विष्फोटपछि विभिन्न सरकारी निकायले जारी गरेका थिए।
एनआईएले मुम्बईमा ड्रग्स र गैरकानूनी सम्पत्तिहरू मार्फत आतंकवादी कोषको प्रमाण फेला पारेको छ। यसका पछाडि अन्डरवर्ल्ड डन दाउद इब्राहिमको सिन्डिकेट काम गरिरहेको छ। आइएसआईको सहयोगमा आतंकको नयाँ मोड्युल तयार भइरहेको छ। एनआईएको खुफिया रिपोर्टका अनुसार दाउद गिरोहका मानिसहरूले पाकिस्तानलाई समर्थन गर्ने आतंकवादी संगठनहरूलाई पैसा उपलब्ध गराउँदै आएका छन्। जसका कारण मुम्बई, ठाणे र छेउछाउका क्षेत्रमा फिरौती, सट्टेबाजी, बिल्डरलाई धम्की र ड्रग्सको कारोबार बढेको छ।