खरसाङमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको नयाँ पार्टी कार्यालय उदघाटन

IMG-20250107-WA0192

नयाँ पार्टीको मुख्य उद्देश्य गोर्खाल्याण्डको लागि हो र नयाँ पार्टीमा‌ कतिजना छन् सबैजना खाँटी गोर्खाल्याण्डको लागि लड्नेहरु हुन्: योगेन्द्र राई

खरसाङ: आज खरसाङमा पहाडको नयाँ राजनैतिक पार्टी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको नयाँ पार्टी कार्यालय उदघाटन गरिएको छ। खरसाङको मन्टियट रोडमा उक्त नयाँ पार्टीको कार्यालय प्रदीप प्रधानको बाहुलीबाट रिबन काटेर गरिएको छ। यस अवसरमा नयाँ राजनैतिक पार्टी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको पदाधिकारीहरु क्रमैले महेन्द्र छेत्री, योगेन्द्र राई, प्रकाश गुरुङ, चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत प्रधान बिमल तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। खरसाङमा उक्त नयाँ पार्टीको कार्यालय उदघाटनपछि एक सभा पनि सम्पन्न भएको छ। उक्त सभामा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ खण्ड स्तरीय कमिटी गठनको लागि रुपरेखा तयार पारिने जानकारी प्राप्त भएको छ। उक्त खण्ड स्तरीय कमिटीमा खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुलाई समेटेर गठन गरिने भएको छ।‌ खरसाङमा नयाँ राजनैतिक पार्टी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको नयाँ कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै यसका नेतृत्व एंव पूर्व सभासद योगेन्द्र राईले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको गठन गोर्खाल्याण्डको लागि भएको साथै यहाँको‌ विभिन्न समस्याहरू समाधानको ‌लागि पनि काम गर्ने बताएका छन्‌। उनले यस नयाँ राजनैतिक पार्टीको २३ जनाको अडहक कोर कमिटी गठन गरिएको र यसमा खरसाङबाट ४ जना रहेको जसमा प्रदीप प्रधान , महेन्द्र छेत्री, योगेन्द्र राई र नर्बु छिरिङ भोटिया रहेको बताएका छन्‌।‌ राईले नयाँ पार्टीको कार्यालय खरसाङमा खोलिएको छ र अब खरसाङ महकुमा समिति गठन गरिने साथै पार्टीको विभिन्न भातृ संगठनहरु पनि गठन गरिने जानकारी गराएका छन्। यसको साथै उनले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट राज्य सरकारलाई पत्रचार गरेर पहाडको चियाबारी क्षेत्रमा ५ डेसीमलको पर्जा पट्टा स्वीकार्य छैन कारण हामी शरणार्थी होइन भनी जानकारी गराई सकेको बताएका छन्। उनले केन्द्रलाई पनि पत्रचार गरिसकेको र अब हुने वार्ताहरुमा पहाडको एक वृहत राजनैतिक पार्टीको रुपमा हामीलाई पनि बोलाएको हुनुपर्छ भनी भनिएको बताएका छन्। उनले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको गतिविधिहरु तेज रुपमा भईरहेको साथै पहाडको विभिन्न स्थानहरुमा नयाँ राजनैतिक पार्टीको झण्डाहरु लगाउने कार्य र यस नयाँ राजनैतिक पार्टीलाई समर्थन गर्ने कार्य पनि सक्रिय रुपमा भईरहेको जानकारी गराएका छन्‌‌।

नयाँ राजनैतिक पार्टीमा‌ पुरानै अनुहारहरु देखिएको विषयमा प्रश्न गर्दा योगेन्द्र राईले भने, नयाँ राजनैतिक पार्टीमा कतिजना पनि सबैजना खाँटी गोर्खाल्याण्डको लागि लड्ने र गोर्खा जातिको लागि केही गर्छु भन्नेहरु रहेको बताएका छन्। उनले सबैजना गोर्खा जातिको लागि अघि आएको पनि बताएका छन्। यसै प्रश्नको उत्तरमा प्रदीप प्रधानले जति पुरानो वाइन तेति कडा र राम्रो हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement