जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु

IMG-20250107-WA0182

झापा: सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जना नेपालीको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका छन्।
यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्‍याएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो।
सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन्। २३६ जनाको प्रहरीले उद्धार गरेको छ। त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका प्रवक्ता अधिकारीले जानकारी दिए। त्यस्तै बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। ११ जनाको प्रहरीले उद्धार गरेको छ।
त्यस्तै गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। ४ जनाको प्रहरीले उद्दार गरेको छ। भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् भने प्रहरीले २ जनाको उद्धार गरेको छ।
‘जनावरको आक्रमणमा परेकाहरूको उद्धार र उपचारका लागि १ हजार ८ सय ३५ जना प्रहरी परिचालन गरिएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘पछिल्लो समय नेपालका विभिन्न स्थानहरूमा जनावरहरूबाट हुने मानवीय क्षतिका घटनाहरू वृद्धि भएको देखिएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सकेसम्म नगई सबैलाई सचेत र सावधान रहन हामीले आग्रह गर्दै आएका छौँ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement