पंखाबारी अम्बटे लङ्भ्यू समष्टिमा २५ जनवरीमा हुने जीटीए आइडलको अडिशन

IMG-20250107-WA0156

खरसाङ: जीटीए आइडल गायन प्रतियोगिताको निम्ति खरसाङको गाडीधुरामा पंखाबारी अम्बटे लङ्भ्यू समष्टिका प्रतिनिधिहरूलाई लिएर एक सभा पंखाबारी-अम्बटे-लङ्भ्यू समष्टि सभापति एंव सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। सभामा जीटीएको सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापा, पंखाबारी अम्बटे लङ्भ्यू समष्टि सभासद कल्पना प्रधान, सन्त मेरिज तीन ग्राम पञ्चायत उप प्रधान सन्तोष तामाङ, अनुप रामुदामु, कुनाल छेत्री, जिनोद परियार, अमृत छेत्री, सचिन विश्वकर्मा लगायत पञ्चायत सदस्यहरू, समष्टिका विभिन्न क्षेत्रका पार्टी प्रतिनिधिहरू तथा शिक्षक एवम् गायक, सङ्गीतकारहरू उपस्थित रहेका थिए। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई अनोश थापा अनि कल्पना प्रधानले सम्बोधन गरेका थिए। यस सभा अनि जीटीए आइडलबारे कार्यकारी सभासद अनोश थापाले यो प्रतियोगिता हाम्रा आफ्नै क्षेत्रका प्रतिभाहरूलाई विशेष प्रोत्साहन अनि सम्मान प्रदान गर्न यो गायन प्रतियोगिता गरेको जनाए। उनले यस प्रतियोगिताको अडिशन आगामी १९ जनवरीदेखि गुरूबथानबाट शुरू हुने अनि सबै ४५ वटा समष्टिहरु लगायत तराई अनि डुवर्समा पनि यसको अडिशन हुने जानकारी दिएका छन्। सभासद अनोश थापाले यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समष्टिहरूमा प्रतिनिधिहरूको चयन भइरहेको जनाउँदै यसलाई सफल पार्न सबैले सहयोग गरिदिने आग्रह गरेका छन्। यस विषयमा उनले अब हामीले नै हाम्रो क्षेत्रका विभिन्न प्रतिभा सम्पन्न व्यक्तिहरूलाई सम्मान प्रदान गर्दै उनीहरूको संरक्षण गर्नुपर्छ। जीटीएको मुख्य कार्यपाल अनित थापाको यस प्रकारको सोचको तिनले सरहना गरे। थापाले प्रतियोगिताको प्रमुख नियमहरूबारे बताउँदै प्रतियोगीतामा भाग लिने प्रतियोगीहरूको उमेर १६ देखि ४० वर्षसम्म हुनुपर्ने जनाए अनि कुनै पनि जिल्ला स्तरको गायन प्रतियोगितामा प्रथम, दोस्रो अनि तेस्रो स्थान भएकाहरूले भाग लिन सक्ने तर राज्य स्तरमा टप टेनसम्म पुग्नेहरूले भाग लिन पाउने छैनन् तथा अन्तराष्ट्रिय वा राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिनेहरूले यस प्रतियोगितामा भाग लिन नपाउने बताएका छन्। यो प्रतियोगितामा अनलाइन भोटिङमा कसैले पनि पैसा दिनु नपर्ने तर शेयर गरेमा जसको धेरै शेयर हुन्छ उसलाई पनि पुरस्कृत गरिने बताए। अडिशनमा समष्टिको दशजना जुरी प्यानलमा हुनेछ, त्यसपछि महा गुरूहरूमा संगीत साधकहरू बाहिरबाट आउने जनाउँदै अडिशनलाई खूबै सुव्यवस्थित र सुन्दर ढङ्गमा तयार पार्नु पर्ने अवगत गराए। थापाले प्रथम अडिशन बिना संगीत हुने र अडिशनपछि समष्टिको एउटा विशेष सांगीतिक कार्यक्रम हुने पनि जानकारी दिए। प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीहरूले फार्मको एक सय रूपियाँ तिर्नु पर्ने पनि थापाले अवगत गराएका छन्। सभासद कल्पना प्रधानले पंखाबारी अम्बटे लङ्भ्यू समष्टिमा जीटीए आइडलको पहिलो अडिशन आगामी २५ जनवरी गाडीधुरा सार्वजनिक भवनमा हुने जनाउँदै यसको निम्ति इच्छुक प्रतियोगीहरूले यथाशीघ्र फारम भर्नुपर्नेछ भन्दै यो फारम अहिले समष्टि सचिव ललित प्रधानकोमा रहेको औ उनीसँग सम्पर्क गरेर फारम लैजान सकिने बताइन्। प्रधानले जीटीए मुख्य कार्यपाल अनित थापाको यो पहल खुबै प्रेरणादायक औ सराहनीय रहेको जनाउँदै यद्यपि यसलाई सफल पार्न प्रत्येक गायक, सङ्गीतकार, साहित्यकार, लेखक एवम् सबै तह अनि तप्काका मानिसहरूले खुलेर सहयोग पुऱ्याइदिने आग्रह गरिन्। यो कार्यक्रम कुनै राजनीतिक प्रेरित नभएर विशुद्ध अराजनैतिक तथा हाम्रा गाउँ-घरका नवोदित कलाकारहरूलाई मञ्च दिने एउटा महत उद्देश्य रहेको जनाउँदै समष्टि यसको निम्ति तयार रहेको जनाइन्। सभामा उक्त अडिसनलाई सफल पार्न एउटा कमिटी पनि तयार पारियो, जसमा मुख्य संयोजकको रूपमा क्षेत्रिय सभासद कल्पना प्रधानलाई चयन गरियो भने सह संयोजकमा ललित प्रधान अनि अनुप रामुदामुलाई राखियो। त्यसबाहेक अन्य प्रतिनिधिहरूमा सबै पञ्चायत सदस्यहरू, शिक्षा,साहित्य, संगीत आदि क्षेत्रका व्यक्तिहरू तथा सामाजिक कार्यकर्ताहरू अनि सबै शाखाका प्रतिनिधिहरू पनि कमिटीमा राखियो भने जुरी प्यानलमा हाललाई दशजनालाई चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement