राभाङला: बर्फुङ निर्वाचन क्षेत्रको राभाङलामा ब्रदर्स युनाइटेड बर्फुङद्वारा आयोजित लोसुङ-नामसुङ उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वास्थ्यको क्षेत्रमा सरकारले उल्लेखनीय कार्य गरेको बताएका छन्।
राज्यका जनतालाई आवश्यक परेको अबस्थामा सरकारले पूर्ण सहयोग गर्ने विश्वास दिलाउॅंदै उनले यदि स्थानीय अस्पतालमा उपचार सम्भव नभएमा मात्र सरकारले पूर्ण सहयोग गर्ने बताए।
सिक्किम राज्यमा वर्तमानमा दक्ष चिकित्सकहरू रहेको र कुनै पनि बिरामलाई यहीँ उपचार गर्न सक्षम रहेको मुख्यमन्त्रीले बताए। तर, राज्यबाट सिलगढ़ी रेफर भएको खण्डमा त्यहाँ बिरामीहरू बस्नका लागि अतिथि गृह निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी गराए।
यसैगरी, कुनै पनि व्यवसाय गर्न इच्छुक व्यक्तिलाई सरकारको तर्फबाट आर्थिक रूपमा सहयोग गर्दै आइरहेको र यो क्रम निरन्तर चलिरहने छ भनी मुख्यमन्त्रीले आश्वस्त गराए। उनले सिक्किम गरीब आवास योजना अन्तर्गत जनतालाई उपलब्ध गराइने घर अब छिट्टै बनाउन शुरु गरिने पनि जानकारी गराए। उनले सही लाभार्थी चयन सुनिश्चित गर्नका लागि सरकारमा कुनै पनि माग राख्दा सबै भन्दा पहिला क्षेत्र विधायकको सिफारिस आवश्यक रहेको बताए।
उनले बर्फुङ समष्टिका विधायक रिक्सल दोर्जी भोटियाले सरकारसमक्ष राखेका सबै मागहरू हेरेर पूरा गर्ने मुख्यमन्त्रीले आश्वासन दिए। निर्वाचन क्षेत्रको विकासका लागि उनले सबै समष्टिमा अब योजना, अनुगमन र बिकास समिति गठन गर्न आह्वान गरे। बर्फुङको भेटेरनेरी खेल मैदानलाई स्तरोन्नति गरी अब जिल्लास्तरीय स्टेडियम निर्माण गर्ने मुख्यमन्त्रीले घोषणा गरे।
सिक्किममा पर्यटकहरूलाई आकर्षण गर्नका लागि सबै समष्टिमा पर्यटन उत्सव आयोजन गर्न प्रोत्साहित गर्दै मुख्यमन्त्रीले बर्फुङ समष्टिमा कुनै पनि समय पर्यटन उत्सव आयोजन गर्न चाहेमा सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिए। गत चुनाव अघि सरकारी नोकरी पाउनबाट बन्चित युवा-युवतीहरूलाई आउँदो मार्च महिनादेखि नोकरीमा नियुक्त गरिने पनि उनले अवगत गराए। उनले पर्वहरूको मौसम सकिएपछि प्रत्येक समष्टिको भ्रणण गर्ने पनि जानकारी गराए।











