गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसरमा विश्व प्रसिद्ध गायक एड शीरनलाई आफ्नो प्रस्तुतिको निम्ति ल्याउने योजना बनाइरहेको विचार साझा गरेपछि सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले कडा प्रतिक्रिया जनाएको छ।
मुख्यमन्त्रीले आज राभाङलामा आयोजित एक कार्यक्रममा एड शीरनलाई ल्याउने योजना बनाइरहेको बताएका थिए।
क्याप प्रवक्ता अल्बर्ट गुरुङले सिक्किमको ५०औं स्थापना दिवसको अवसरमा युके आधारित गायक एड शीरनलाई ल्याउने मुख्यमन्त्रीको घोषणाप्रति कडा अस्वीकृति व्यक्त गरेका छन्। उनले आज जारी प्रेस विज्ञप्तिमा सिक्किमले वर्तमानमा वित्तीय चुनौतीहरूको सामना गरिरहेको र आफ्ना कर्मचारीहरूलाई वेतन दिनसमेत संघर्ष गर्नु परिरहेको दाबी गरेका छन्।
उनले गायक एड शीरनले आफ्नो प्रस्तुतिको निम्ति २६ देखि ३६ करोड़ रूपियॉंसम्म लिने गरेको दाबी गर्दै यसले राज्यको वित्तीय संसाधनमाथि ठूलो तनाउ पुग्ने बताएका छन्। उनले वर्तमान एसकेएम नेतृत्वमाथि शासनको सट्टा मनोरञ्जनलाई प्राथमिकता दिएको पनि आरोप लगाएका छन्। उनले सिक्किमको स्थिति राम्रो हुॅंदो हो भने विश्व प्रसिद्ध कलाकारहरूलाई स्वागत जनाउन सकिन्छ, तर केही व्यक्तिहरूका इच्छा ठूलो जनसङ्ख्याको कल्याणको मूल्यमा आउनु हुँदैन भनी बताएका छन्।