सिडनी: भारतका मुख्य प्रशिक्षक गौतम गम्भीरले आइतवार खराब फर्ममा रहने रोहित शर्मा र विराट कोहलीमा उत्कृष्ट प्रदर्शन गर्ने चाहना रहेको स्पष्ट गर्दै उनले यी दुईजनाको साथमा सबै सीनियर खेलाड़ीहरूसँग घरेलु क्रिकेट खेलेर टेस्ट क्रिकेटको निम्ति आफ्नो प्रतिबद्धता साबित गर्ने आग्रह गरेका छन्। यसको साथमा दुईपल्टका वर्ल्ड कप विजेता रहिसकेका स्पष्टवादी गम्भीरले रोहित या कोहली आउँदो समयमा टेस्ट टीमको हिस्सा हुनेछन् या छैनन् भन्ने विषयमा कुनै आश्वासन दिएनन्। उल्लेखनीय छ, भारतले अष्ट्रेलियाविरुद्ध बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजमा १-३-ले हारको साथ वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनल खेल्ने मौका पनि गुमायो। गम्भीरले भने, पाँच महिनापछि हामी कहाँ हुनेछौं भन्ने अहिले चर्चा गर्न सक्दैनौ। खेलमा धेरै कुराहरू बद्लिन्छ। फर्म बद्लिन्छ, मानिस बद्लिन्छन्, मिजास बद्लिन्छ, धेरै कुराहरू बद्लिन्छ। पाँच महिना लामो समय हुने हामीलाई थाहा छ।
गम्भीरले भने, ईंग्ल्याण्डविरुद्ध सीरीज (जुलाईमा)-को समय हामी सोचविचार गर्नेछौं। त्यस समय जे भए पनि त्यो भारतीय क्रिकेटको सर्वश्रेष्ठ हितमा रहनेछ। उल्लेखनीय छ, अष्ट्रेलियाविरुद्ध खराब फर्मले गर्दा अन्तिम टेस्ट म्याचबाट स्वयंलाई बाहिर गर्न अघि रोहितले ५ वटा ईनिंग्समा केवल ३१ रन बनाए। यसरी कोहलीले पनि ९ वटा ईनिंग्समा केवल १९० रन बनाए। यसमा कोहली ८ पल्ट स्लिपमा क्याच आउट भए। सीनियर खेलाड़ीहरूले २३ जनवरीदेखि शुरु हुने रणजी ट्रफीमा कम्तीमा एउटा म्याच खेल्नु पर्नेछैन भन्ने प्रश्नको जवाफमा गम्भीरले भने, म सदा सबैले घरेलु क्रिकेट खेलोस् भन्ने चाहन्छु। घरेलु क्रिकेटले यतिको महत्त्व पाउनु पर्छ। यो केवल एउटा म्याचमा खेल्ने कुरा होइन। खेलाड़ीहरू उपलब्ध छन् अनि उनीहरूमा टेस्ट क्रिकेट खेल्ने प्रतिबद्धता रहे प्रत्येकले घरेलु क्रिकेट खेल्नु पर्नेछ। घरेलु क्रिकेटलाई महत्त्व नदिए टेस्ट क्रिकेटको निम्ति त्यसै पनि खेलाड़ीहरू अघि आउन सक्नेछैनन्।
कोहलीले अन्तिमपल्ट २०१२ र रोहितले अन्तिमपल्ट २०१५-१६-मा रणजी ट्रफी खेलेका थिए। रोहित र कोहलीको भविष्यबारे अड़कलबाजीको हिस्सा बन्नदेखि अस्वीकार गर्दै गम्भीरले भारतीय क्रिकेटको निम्ति के सर्वश्रेष्ठ हुनेछ भन्ने यी दुईजनाले नै तय गर्ने बताए। उनले भने, म कुनै खेलाड़ीको भविष्यबारे कुरा गर्न सक्दिनँ। यो उनीहरूले नै तय गर्नु पर्नेछ तर उनीहरूमा अहिले पनि रन बनाउने भोक र जोश रहेको चाहिँ म दावी गर्न सक्छु। उनीहरूले दृढ़ मानिस हुन् अनि उनीहरूले भारतीय क्रिकेटलाई निरन्तर अघि बढ़ाउने मलाई आशा छ। उनीहरूले जे पनि गर्नेछन् त्यो भारतीय क्रिकेटको सर्वश्रेष्ठ हितमा हुनेछ। आफूमा खेल अनि असल प्रदर्शनको निम्ति कतिको भोक छ भन्ने प्रत्येक खेलाड़ीलाई थाहा हुन्छ। यसको साथमा गम्भीरले उनको मुख्य लक्ष्य सबै खेलाड़ीहरू प्रति समान व्यवहार गर्ने रहेको पनि स्पष्ट गरे। उनले भने, म २-३ जना प्रति सही रहे अनि अन्य खेलाड़ीहरू प्रति रहिन भने म आफ्नो काम प्रति ईमानदार रहने छुइनँ। कुनै खेलाड़ीले पदार्पण पनि गरेका छैनन् अनि कतिजनाले १०० वटा टेस्ट म्याच खेलिसकेका छन् भन्ने पनि मेरो काम सबै प्रति समान वर्ताव गर्नु हो। आफ्नो काम ईमानदारीपूर्वक गर्न सके सबैथोक सही रहनेछ। ड्रेसिंग रूमलाई प्रसन्न राख्न म ईमानदार र सबै प्रति निष्पक्ष रहनु पर्नेछ।